प्रस, वीरगंज, ११ मङ्सिर/
सामाजिक सेवामा सक्रिय सुरेन्द्र कुर्मी, ओमप्रकाश सर्राफलगायतको टोलीले शनिवार राति वीरगंजका विभिन्न स्थानमा सडकपेटीमा जीवनयापन गर्ने, रिक्शाचालक, भीखमाग्नेहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
माईस्थानको गहवामाई मन्दिरमा भीखमाग्नेहरूलाई ज्याकेट वितरण गरिएको थियो भने विभिन्न स्थानमा रिक्शा चलाउनेहरूलाई पनि ज्याकेट वितरण गरिएको थियो । सामाजिक कार्यकर्ता सर्राफले शनिवार २५ थान ज्याकेट वितरण गरिएको बताए । कुर्मी प्रतिनिधिसभामा क्षेत्र नं २ बाट जसपाका उम्मेदवार थिए भने सर्राफ प्रदेशसभामा पर्सा क्षेत्र नं १ (२)बाट हाम्रो नेपाली पार्टीको उम्मेदवार भएर पराजित भएका थिए । दुवैजना सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।
यसैगरी, उपकार सेवा नेपालको सहयोगमा सोमवार जीराभवानी गाउँपालिकामा अग्निपीडितहरूलाई सामाजिक अभियन्ता प्रकाश थारूमार्फत त्रिपाल, कपडा र खाद्यान्न पठाइएको सर्राफले बताए । उपकार सेवा नेपालले पनि यसअघि वीरगंज–२ को लक्ष्मीनारायण टोल, ४ को भगवतीटोलमा रहेका विपन्न परिवारलाई कम्बल वितरण गरेको थियो ।