नितेश कर्ण, वीरगंज, ११ मङ्सिर/
मधेस प्रदेशमा सोमवार मङ्सिर १२ गते सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले आइतवार सूचना प्रकाशित गर्दै विवाह पञ्चमीको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको बताएका छन् ।
उनले त्रेतायुगमा माता सीता र रामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष साताव्यापीरूपमा विवाह पञ्चमी मनाइने हुँदा सो कार्यमा सहभागी हुन आग्रह पनि गरेका छन् ।
यसैबीच, विवाह पञ्चमीलाई लक्षित गरेर भारतीय पर्यटकहरू नेपाल आउने क्रम बढेको छ । दुई दिनमा मात्र वीरगंज नाका भएर पाँच सयभन्दा बढी भारतीय ठूला–साना सवारीसाधनबाट विवाह पञ्चमीमा सहभागी हुन श्रद्धालु भक्तजन आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयमा प्रवेश इजाजतपत्रको लागि भारतीय साना–ठूला सवारीसाधनहरू अहिले लामबद्ध छन् । आइतवार बिहान पनि ठूलो सङ्ख्यामा भारतीय ठूला–साना सवारीसाधनहरू यो नाकाबाट भित्रिएका छन् । उनीहरू सबै विवाह पञ्चमीको लागि जनकपुर जान लागेका हुन् ।