प्रस, वीरगंज, ११ मङ्सिर/
पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित एमालेका राजकुमार गुप्ता र प्रदेशसभामा निर्वाचित नेपाली काङ्ग्रेसका जनार्दनसिंह क्षत्री र स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाललाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका छन् ।
प्रतिनिधिसभामा यो क्षेत्रबाट एमालेका गुप्ता १५१ मतले विजयी घोषणा भएका थिए तर मतपेटिकाबाट २७८ मत घटेको र सो मत समानुपातिकतर्फको मतगणनामा देखिएको विषयलाई लिएर विवाद भएको थियो । निर्वाचन अधिकृत योगनाथ ढकालले समानुपातिकतर्फ बरामद प्रत्यक्षतर्फको मतलाई गणना गर्दा १५१ मतले जितेका गुप्ताको मत बढेर १६७ भएको बताए ।
सोमवार बिहान यो क्षेत्रबाट निर्वाचित सांसद र प्रदेशसभा सदस्यलाई समानुपातिकतर्फको मतगणना सकिएपछि प्रमाणपत्र वितरण गरिएको हो ।