प्रस, परवानीपुर, १० मङ्सिर/
बाराको निजगढमा अनौठो मेला आयोजना गरिएको छ ।
मङ्सिर ५ गतेदेखि पूजापाठसँगै मेला प्रारम्भ भएको थियो । तर मङ्सिर ६–११ गतेसम्म मेला आयोजना भएको वाक्यकेश्वर महादेव मन्दिर मेला आयोजक समितिका अध्यक्ष नवराज मैनालीले बताए ।
निजगढ नपा–९ नदिकट्टा क्षेत्रको करीब पाँच बिघा क्षेत्रफलमा गत वर्षदेखि धार्मिक मेला लगाउन थालिएको हो । जबकि सो स्थानमा आधुनिक किसिमको शिवमन्दिर ८/९ वर्षअघि स्थापना गरिएको थियो । त्यसै मन्दिरको संरक्षण र प्रवर्धनको क्रममा उक्त मेला आयोजना हुने गरेको बताइन्छ ।
करीब २० लाखको खर्चमा राति ७–१२ बजेसम्म लाग्ने मेलामा करीब सयभन्दा बढी स्टल राखिएका छन् । रमाइलोको लागि सेल्फी प्वाइन्ट, खेल, तमाशा र सांस्कृतिक कार्यक्रम पनि राखिएका छन् ।
मेलामा प्रकाश सपूत, प्रीति आले, कमल क्षेत्री, कमल खत्री, मेलिना मैनाली, एलिना चौहान, सुरेश लामा, चर्चित टिकटकर प्रीति पासवानलगायतको बेजोड प्रस्तुति छ । शनिवार कमल क्षेत्रीको प्रस्तुति रह्यो भने मेलाको अन्तिम दिन आइतवार प्रकाश सपूत र प्रीति आलेको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।