- राजेश मिश्र
“धा–धरियो” शब्दध्वनिले सरेह गुञ्जायमान थियो । ठूलठूलो स्वरमा चिच्याउँदै आआफ्नो खेतबाट चराचुरुङ्गीहरूलाई धपाउने किसानहरूको प्रयत्न जारी थियो । हामी सबैलाई थाहा छ, गहुँको ‘बोवनी’ (खेतमा बीउ छर्ने क्रिया) भएसँगै चराचुरुङ्गीहरूका लागि सरेह भोजस्थलमा परिणत हुन्छ । खेतमा बीउ छरिसकेपछि चराचुरुङ्गीहरू बीउ टिप्ने र किसानहरूले धपाउने पौंठेजोरी चलिरहन्छ ।
किसानहरू आआफ्नो खेतमा बीउको संरक्षणहेतु प्रयत्नशील थिए । किसानहरूले चराहरूलाई धपाउँथे । चराहरू उड्थे । कहिले खेतको अर्को छेउमा त कहिले छिमेकीको खेतमा बस्थे । चराहरूलाई कसको खेत हो भनेर थाहा हुने कुरै भएन । यद्यपि चरा धपाएर आफ्नो खेतमा पठाएको भन्दै एक किसानले अर्को किसानमाथि शङ्का गर्न थाले । दुई किसानबीच बिस्तारै अवस्था विवादित बन्न थाल्यो । सामान्य विवादले उग्ररूप लियो । परबाट एक किसान यिनीहरूको झगडा हेरिरहेका थिए । उनले सुल्झाउने प्रयत्न गरे । यद्यपि उनीहरू मान्ने अवस्थामा थिएनन् । अन्ततोगत्वा उनले पञ्चायतीको माध्यमबाट सुल्झाउने आग्रह गर्दै झगडियाहरूलाई लिएर गाउँतर्फ प्रस्थान गरे ।
धानको बोझा चोरेको आशङ्कामा एकजनामाथि अघिदेखि नै पञ्चायतसभा बसेको थियो । सभामा पञ्च तथा भद्रभलादमीहरूका साथै गाउँका मानिसहरूको उच्च भीड थियो । चोरीको आशङ्का गरिएको व्यक्ति आफूले धानको बोझा नचोरेको स्पष्टीकरण दिइरहेको थियो । पञ्चहरूले सत्य कुरा भन्न कर गर्न थालेपछि सो व्यक्तिले भने, “पञ्च साहेब हम अपने के मुडी पर हात राख के किरिया (कमस) खालेतानी, तब विश्वास होइ नु ? जे हम धान के बोझा नइखीं चोरइले ?”
एक पञ्चलाई इङ्गित गर्दै उनको शिरमा हात राखेर किरिया खाने भनेपछि ती पञ्चको मुहार रातोपिरो भयो । उच्च स्वरमा कराउँदै उनले भने, “हामरा मुडी पर हाथ राख के काहे किरिया खइबे ? यदि तु चोरी कइले होखबे तब त अनिष्ट हमरा नु भुगते परी ?” अरू कसैको शिरमा हात राखेर कसम किन खानुपर्ने ? पञ्चहरूले रिसाउँदै आदेश दिए, “तिमी आफ्नै वा सन्तानको शिरमा हात राखेर कसम खाऊ, तबमात्र विश्वास गर्न सकिन्छ ।” जसको शिरमा हात राखेर कसम खाइन्छ, सो व्यक्तिलाई अनिष्ट हुने लोकमान्यता छ । पञ्चहरूको आदेश सुनेपछि चोरको मन व्याकुल भयो । कसम खान आनाकानी गर्न थाल्यो । अन्ततः त्यो व्यक्ति चोरीको अभियोगसहित दण्डित भयो ।
यसपछि ती दुई किसानको विवाद सुनुवाइ हुन थाल्यो । चरा धपाएर अर्काको खेतमा कसरी पठाउन सकिन्छ ? भन्ने पञ्चहरूले सम्झाउन थाले । यद्यपि दुवैजनामध्ये कोही पनि पञ्चको कुरा मान्न तयार थिएनन् । एकले अर्कालाई दोषारोपण गरिरहेका थिए । पञ्चहरूले उनीहरूसँग सत्य कुरा नबताए दुवैजनालाई सजाय हुने कुरा सुनाए । पञ्चहरूको कडा चेतावनीपछि दुवैजनाले कान समातेर कसम खान थालेछन् । एकले आमाबुबाको र अर्कोले सन्तानको शिरमा हात राखेर कसम खाए । दुवैजनामध्ये कसैलाई पनि चरा धपाएर अर्काको खेतमा पु¥याउने उद्देश्य थिएन । त्यस कारण उनीहरूले निस्सङ्कोच कसम खाएछन् । पञ्चहरूलाई पनि दुवै किसानले एकअर्कामाथि शङ्का गरिरहेको सत्यतथ्य बुझ्न कठिन थिएन ।
कालान्तरमा कसम खानु चानचुने कुरा थिएन । झूट बोल्ने व्यक्ति कसम खानबाट तर्सिन्थे । सत्यपथमा अडिग व्यक्तिलाई कसम खान हिच्किचाहट हुँदैन थियो । मान्यता के थियो भने कसम खाएर असत्य बोलेपछि जसको शिरमा हात राखेर कसम खाइन्छ, उसलाई अनिष्ट हुन सक्छ । त्यस कारण मानिसहरू कसम खाएर झूट बोल्थेनन् । डराउँथे । त्यसताका मानिसहरू सत्यमार्गी थिए । छलकपट, भेदभाव मनमा हुन्थेन ।
किसानले खेतमा अन्न उत्पादन गर्ने कार्यका लागि शपथ लिंदैनन् । यद्यपि उनीहरूको जाँगर निष्ठापूर्वक खेतमा प्रवाहित हुन्छ । आमाहरूले शिशुलाई हुर्काउने शपथ लिंदैनन्, यद्यपि शिशुको सुखचैनमा उनीहरूको खुशी निहित रहन्छ । पिताहरूले सन्तानलाई शक्तिमान् बनाउने शपथ लिंदैनन्, यद्यपि सन्तानको भाग्योदयको कामना सदैव गरिरहन्छन् । मानवजीवनमा थुप्रै यस्ता विषय छन्, जसका लागि शपथ लिइँदैन । तर निष्ठापूर्वक कर्तव्य निर्वाह गरिन्छ । सार्वजनिक पदधारक व्यक्तित्वहरूको निष्ठा पनि यसैगरी हुनुपर्ने हो । कानूनविपरीत आचरणमा लिप्त हुनु घोर विडम्बना नै भन्नुपर्छ ।
मङ्सिर ४ गते निर्वाचन सम्पन्न भयो र सोको भोलिपल्टदेखि मतगणना कार्य भइरहेको छ । थुप्रै क्षेत्रका मतपरिणाम आइसकेका छन् भने बाँकी क्षेत्रको आउने क्रम जारी छ । निर्वाचित प्रतिनिधिहरूले संविधानतः शपथ लिई आआफ्नो कार्यभार सम्हाल्नेछन् । शपथ कसरी लिइन्छ ? आउनुस् शपथपत्रको नमूना हेरौं ।
“म … नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादर रही सत्य–निष्ठापूर्वक ‘ईश्वरको/देश र जनताको’ नाममा शपथ लिन्छु कि … पदको जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताइ कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीताका साथ गर्नेछु र आफ्नो कर्तव्यको पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्नेछैन ।”
उपरोक्त पङ्क्तिमा ‘ईश्वर’ वा ‘देश र जनता’को नाममा शपथ लिनुपर्ने नियम उद्धृत छ । के ईश्वर वा देश र जनताको नाममा शपथ लिंदैमा मनोवृत्ति शुद्ध हुन सक्छ ? देश र जनताको भावनाअनुकूल दृढसङ्कल्पित हुने सम्भावना छ ? तर विडम्बना उनीहरू शपथ लिन्छन् र सोेविपरीत कार्य गर्छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, विधायक, न्यायाधीश, चिकित्सक, सेना, प्रहरी, कर्मचारी आदि विविध सार्वजनिक पद धारण गर्ने व्यक्तित्वहरूले पदभार ग्रहण गर्नुअघि शपथ लिन्छन् । सार्वजनिक पदधारण गर्ने, शपथ लिने र नियमविपरीत आचरणमा लिप्त हुने प्रवृत्ति विडम्बनाको पराकाष्ठा हो । यहाँ सबै उस्तै हुन् भन्न खोजिएको होइन । आजको परिवेशमा बहुसङ्ख्यक असत्यमार्गीहरूको झुन्डमा झिनो सत्यमार्गीहरू आफैं दुःिखत छन् । त्यस कारण शपथ लिनु रीत पु¥याउने कामभन्दा बढी महŒवपूर्ण मान्न सकिंदैन । शपथ लिएर कानूनविपरीत कार्य गर्ने र अनिष्ट ईश्वर वा देश र जनताको शिर थोप्ने परम्परालाई भेदभावपूर्ण किन नमान्ने ?
शपथ लिनुको औचित्य के हो ? शपथको कति प्रतिशत पालना हुन्छ ? कुनै पनि व्यक्ति आजको समयमा आफूले लिएको शपथप्रति खरो उत्रेको देखिंंदैन । यद्यपि शपथ लिनुपर्ने नाटक किन भइरहेको छ ? के शपथ लिने प्रणाली परिवर्तन हुनुपर्छ भन्ने लाग्दैन ?
हिन्दी फिल्म ‘तिरङ्गा’मा अभिनेता राजकुमारले धार्मिक ग्रन्थ गीतामा हात राखेर शपथ लिन अस्वीकार गरे । किनभने उनलाई थाहा थियो कि उनी असत्य बोल्न गइरहेका छन् । त्यस कारण पवित्र ग्रन्थको अपमान गर्नुको औचित्य उनले ठानेनन् ? यस फिल्मको माध्यमबाट शपथ लिने प्रणालीमाथि व्यङ्ग्य प्रहार गरिएको छ ।
सार्वजनिक पद धारण गर्ने व्यक्तित्वहरूले शपथ लिएर आफूलाई चोखो देखाउने चलन व्यवहारमा पनि उतार्न सक्नुपर्छ । अन्यथा शपथ लिनुको कुनै औचित्य छैन । अरूलाई आफ्नो वचनप्रति विश्वास होस् वा झूटको खेती नहोस्, त्यसका लागि धार्मिक ग्रन्थ, आमाबुबा वा छोराछोरीको कसम खाने चलन छ । शपथ लिइसकेपछि कानूनविपरीत कार्य नगर्नुपर्ने हो । यद्यपि अहिलेको परिवेशमा शपथग्रहण केवल परम्परामा सीमित देखिन्छ । आजको परिवेशमा साक्षात् भगवान्को सामुन्ने पनि शपथ लिने वा कसम खाने व्यक्तिले साँचो बोलिरहेको छ वा पदको दायरामा रहेर कर्तव्य निर्वाह गर्छ भन्ने कुरा पत्याइहाल्नुपर्ने अवस्था छैन ।
उहिले अहिंसा परमोधर्म, सत्य वचन, ईश्वरमा आस्था, आमाबुबा तथा ठूलाबडाको सम्मान र गुरुको आदेशको पालनालगायतका मान्यताहरू अहिले रीत पु¥याउने कार्यमा सीमित छन् । आजको परिवेशमा सत्य, सिद्धान्त र अहिंसाको मार्ग प्रायः लुप्त छ । हाम्रा पुर्खाहरू आँखा चिम्लेर आमाबुबा तथा गुरुजनको आज्ञापालन गर्दथे । जुन आज आँखा खोलेरै कानून उल्लङ्घन गर्ने होडमा सबै छन् । न्याय दिने न्यायालय पनि अछूतो छैन ।
ईश्वर वा देश र जनताको नाममा शपथ लिनु जति सजिलो छ, त्यति आफ्नै सन्तानको शिरमा हात राखेर शपथ लिनु सजिलो छैन । त्यस कारण शपथ लिने प्रणाली परिमार्जन गर्नु आवश्यक छ । ईश्वर वा देश र जनताको नाममा नभई आफ्नै सन्तानको शिरमा हात राखेर शपथ लिनुपर्ने नियम किन नबनाउने ?