- विश्वराज अधिकारी
सामाजिक व्यवहार एवं कुराकानी
अमेरिकीहरूका केही सामाजिक व्यवहार सामान्यभन्दा पृथक रहेको पाइन्छ । अमेरिकीहरू कसैसँग कुरा गर्दा, कुरा गर्नेसँग, उनीहरूले आँखा जुधाएर कुरा गर्छन् । कुरा सुन्नेले पनि निरन्तर आँखा जुधाएर नै कुरा सुन्ने गर्छन् । वक्ता र श्रोता दुवैले आँखा जुधाउनुलाई एकअर्काप्रति सम्मान व्यक्त गरिएको रूपमा लिन्छन् । वक्तासँग श्रोताले आँखा नजुधाउनुको अर्थ वक्ताको कुरालाई महत्व नदिनु वा अपमान गर्नु सरह हुन सक्छ । जुनसुकै उमेर वा पदको व्यक्तिसँग कुरा गर्दा निरन्तर आँखा जुधाएर कुरा गर्नु अमेरिकी संस्कृति हो । दक्षिण एशियाका देशहरूमा भने परिस्थिति अनुसार आँखा जुधाएर कुरा गर्ने चलन छ । जस्तै उच्च पदको, अति सम्मानित वा आफूले अति सम्मान व्यक्त गर्नुपर्ने व्यक्तिसँग कुरा गर्दा, कुरा गर्नेले आँखा जुधाएर होइन, आँखा तल पारेर कुरा गर्ने चलन छ । आफूले उच्च सम्मान दिनुपर्ने व्यक्तिसँग कुरा गर्दा उक्त व्यक्तिसँग आँखा जुधाउनुको अर्थ सो व्यक्तिको अपमान गर्नु सरह हो । कुनै सामान्य व्यक्तिले कुनै विशिष्ट व्यक्तिसँग कुरा गर्दा सामान्य व्यक्तिले आफूसँग आँखा नजुधाओस् भन्ने अपेक्षा सो विशिष्ट व्यक्तिले गरेको हुन्छ ।
आफूभन्दा ५०–६० वर्ष जेठो व्यक्ति होस् वा वयोवृद्ध होस्, त्यस्ता व्यक्तिहरूसँग कुनै बालक वा युवा अथवा युवतीले कुरा गर्दा सो उमेर पुगेको व्यक्तिलाई उसको नाम लिएर सम्बोधन गर्नु अमेरिकीहरूको अर्को रोचक सामाजिक व्यवहार हो । एक सात/आठ वर्षको बालकले नब्बे वर्षको कुनै व्यक्तिलाई उसको नाम लिएर सम्बोधन गर्ने चलन छ । जस्तै उक्त नब्बे वर्षको व्यक्तिको नाम डेभिड पार्कर हो भने उसलाई डेभिड भनेर सम्बोधन गर्ने चलन छ । सम्बोधन गर्दा केवल नाम मात्र भन्ने चलन छ । जस्तै, माथिको उदाहरणमा, डेभिड मात्र भनेर, डेभिड पार्कर भन्ने चलन छैन । दक्षिण एशियाका देशहरूमा आफूभन्दा माथिल्लो उमेरका व्यक्तिहरूलाई सम्बोधन गर्दा आदरसहित काकी, काका, दिदी, दाजु, आमा, बुवा र आफूभन्दा कम उमेरका व्यक्तिहरूलाई सम्बोधन गर्दा बहिनी, भाइ भनिएझंै भन्ने चलन अमेरिकी समाजमा छैन । सौतेनी आमा वा सौतनी बुबालाई पनि आमा बा नभनेर उनीहरूको नाम भनेर सम्बोधन गर्ने चलन छ ।
यसैगरी, दक्षिण एशियाका देशहरूमा अभिवादन व्यक्त गर्न वा सम्मान व्यक्त गर्न एकले अर्कोलाई नमस्कार गरेझैं अमेरिकमा अभिवादन गर्न वा सम्मान व्यक्त गर्न हात मिलाउने चलन छ । अभिवादन व्यक्त गर्न वा सम्मान व्यक्त गर्न जुनैसुकै उमेरको व्यक्तिले जुनसुकै उमेरको व्यक्तिसँग हात मिलाउने चलन छ । पुरुषहरूलाई अभिवादन गर्न महिलाहरूले पनि अभिवादन गर्ने पुरुषसँग हात मिलाउने चलन छ । यसैगरी, महिलाहरूलाई पनि अभिवादन गर्न पुरुषहरूले आभिवादन गर्ने महिलासँग हात मिलाउने चलन छ । अर्थात् महिला र पुरुषबीच हात मिलाएर अभिवादन साटासाट गर्ने चलन छ ।
अपरिचित व्यक्तिसँग आँखा जुधाउनु पनि अमेरिकी संस्कृतिको एक अङ्ग हो । तर त्यसरी अपरिचित व्यक्तिसँग आँखा जुधाउँदा भने ओठमा मुस्कान ल्याउनु राम्रो मान्ने गरिन्छ ।
कसैको कानको नजीक आफ्नो मुख पु¥याएर सार्वजनिकरूपमा कानेखुसी गर्नु अमेरिकी संस्कृतिमा राम्रो मानिंदैन । त्यसैगरी, टाढाबाट चर्को स्वरमा कसैलाई बोलाउनु वा कुराकानी गर्नुलाई पनि राम्रो मानिंदैन ।
कसैको बारेमा धेरै चासो राख्नु, जस्तै कहाँ काम गर्नुहुन्छ, कति तलब पाउनुहुन्छ, के कस्तो काम गर्नुहुन्छ, तपाईंको परिवारमा को को छन् जस्ता अनेक किसिमका कुराहरूमा चासो राखेर कसैलाई अनेक प्रश्न गर्नु अमेरिकी संस्कृतिमा राम्रो मानिंदैन । यो कारणले पनि भन्ने गरिन्छ– दुई अमेरिकी भेटिए भने कुराकानीको प्रारम्भ मौसम, घाम, हावा आदिबाट हुन्छ ।
अमेरिकहरूको सामाजिक व्यवहारमा औपचारिकता भन्दा समानतालाई बढी महत्ता दिने चलन छ ।