• बैधनाथ श्रमजीवी

यतिबेला सङ्घीय प्रदेशको निर्वाचन सकिसकेको छ । सम्पूर्ण सिटको मतपरिणाम आइसकेको छैन । मतगणना कार्य देशैभरि जारी छ । अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा अपेक्षित नतीजा नै आएको छ । जसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचन बाट बनेको झन्डै दुईतिहाई बहुमतको सरकारले जनसरोकारको विषयमा खासै काम गर्न सकेन । पार्टीगत आन्तरिक द्वन्द्व, त्यो पनि केवल कुर्सीको लागि गरेर एकले अर्कोलाई सिध्याउने खेल खेलेर जग हँसाउनेबाहेक अरू केही गर्न सकेन । त्यसैले जनता कुनै पनि पार्टीसँग खुशी थिएन । झन् दुईतिहाई बहुमतको आफ्नै सरकार ढालेर जनताद्वारा दण्डित गरिएको नेपाली काङ्ग्रेसजस्तो पार्टीको नेतृत्वमा नेकपा माओवादीले सरकार बनाएको जनतालाई पटक्कै मन परेको थिएन भन्ने कुरा अहिलेको निर्वाचन परिणामले स्पष्ट पारेको छ । २०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेस यसपालि पहिलो स्थानमा उक्लेको छ, जबकि त्यति बेला दोस्रो स्थानमा रहेको नेकपा–माओवादी यति बेला चौथो स्थानमा झरेको छ । पहिलो स्थानमा रहेको नेकपा एमाले दोस्रो स्थानमा आएको छ । अब खिचडी सरकार बन्ने निश्चित छ । कुनै पनि पार्टीको बहुमत नआउने करीबकरीब टुङ्गो लागेको छ । दुईतिहाई बहुमतको सरकार ढलेर केही गर्न नसक्ने अवस्था भएको यो मुलुकमा अब फेरि बन्ने तिनै पार्टीहरूको खिचडी सरकारले के गर्ला ? यसले जन अपेक्षित विकास र समृद्धि ल्याउन सक्छ ?

के यो सरकार पूरा कार्यकाल बिताएर स्थायी सरकारको इतिहास कायम राख्न सफल होला ? नेपाली काङ्ग्रेससहितको चुनावी गठबन्धनकै पार्टीहरूको सरकार बन्ला वा फेरि वाम गठबन्धन गरी सरकार बन्ने हो खड्ग प्रसाद ओलीको नेतृत्वमा ? यतिबेला बुद्धिजीवी वर्गबाट विभिन्न प्रश्नहरू उठाइएको छ ।

एकथरीले भन्दैछन्–निर्वाचन परिणाम हेर्दा यी ठूला पार्टीहरूका अध्यक्षहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । यिनीहरूसँग अध्यक्ष पदमा बसिरहने कुनै नैतिक अधिकार छैन ।

अर्कोथरीको भनाइ छ–रवि लामिछानेजस्ता बुर्जुवा राजावादीले आफू जितेपछि कसैले फूलको माला, खादा, गुच्छा लिएर धन्यवाद सभामा नआइदिन सार्वजनिक अपिल गरिसकेको अवस्थामा आफूलाई कम्युनिस्ट भन्नेहरू समग्रमा पार्टी हारेको, तर नेता मात्रै जितेको अवस्थामा फूलको माला, खादा र गुच्छाबीच ढल्किंदै के के न जिते जस्तो विजयी भएको नाटक गर्दा लाज लाग्नुपर्ने हो ।

केहीले भन्दैछन्–जनयुद्धलाई धोका दिएर काङ्ग्रेसजस्तो बुर्जुवा शक्तिसित केवल आफ्नो कुर्सी टिकाउन गरेको दक्षिणपन्थी गठबन्धनमा नेकपा माओवादीले धोकाबाहेक अरू के नै पाउँछ ?

अझै केहीले भन्दैछन्–अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्प राष्ट्रपतिबाट हटेपछि उनको निजी सम्पत्ति करोडौं डलर घटेको छ तर हाम्रो प्रधानमन्त्री तथा मन्त्रीहरू जो पदमा फटफटे चप्पल लगाएर आएको भएपनि पदबाट बाहिरिंदा नेपालको सबैभन्दा धनाढ्य व्यक्ति विनोद चौधरीभन्दा पनि बढी हाइफाईमा देखिन्छन् । अनि यस्ता नेताहरूले देश विकास गर्लान् भनेर कसरी पत्याउने ?

वास्तवमा यतिबेला उठेका यी सबै सवाल महŒवपूर्ण छन् । तर यस्ता सवाल गरिरहँदा हामी प्रायः के बिर्सर्छौं भने यो व्यवस्था दलाल पूँजीवादी व्यवस्था हो । यसमा जहिले पनि जनताको शोषण, दमन उत्पीडन मात्रै हुन्छ । यस व्यवस्था अन्तर्गत जनकल्याण, समानता, विकास तथा समृद्धि खोज्नु अबुझपन हो । भन्नलाई मानिस यो पनि भन्छन् कि भारतमा मोदीले निकै विकास गरेका छन् । नरेन्द्र मोदीको नेतृत्वमा बनेको भारतीय जनता पार्टीको सरकार निकै राम्रो छ, तर के यो कुरा साँचो हो ?

भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मा र नेपाल सबै ठाउँमा एकै प्रकारको राजनीतिक व्यवस्था छ, यसलाई दलाल पूँजीवादी व्यवस्था भनिन्छ । यी कुनै ठाउँमा जनता खुशी र सुखी छैन । यी सबै ठाउँमा जनतालाई विभेदमा पारिएको छ अनि भनिन्छ यो व्यवस्था धेरै राम्रो छ । विगत ७५ वर्षदेखि भारतमा यही व्यवस्था अन्तर्गत चुनाव हुँदैछ । जनताले कहिले काङ्ग्रेसको गुण गाउँदै काङ्ग्रेसलाई जिताउने गर्छ कहिले काङ्ग्रेस खत्तम भो भन्दै काङ्ग्रेसलाई हराउँछ । अहिले भारतीय जनता पार्टी राम्रो भन्दै उसलाई दुई कार्यकालदेखि निरन्तर जिताएको छ तर के भारतमा किसानहरू सुखी छन् ?

ऋण तिर्न नसकेर ब्याजको बोझले गर्दा आत्महत्या गर्ने सबैभन्दा बढी किसान भारतमैं छन् भने कसरी मोदी सरकारलाई राम्रो भन्ने ? पौने एक सय वर्षसम्म निरन्तर मतदान गरेर पनि जनताको लागि सबैभन्दा उत्कृष्ट ठानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामक प्रजातन्त्रले पनि जनताको अवस्था बदल्न नसकेको यथार्थ हाम्रो आँखा अगाडि छर्लङ्ग छ, तरपनि हामी यही व्यवस्था बाट मतदान गरेर सबै चीज उलटपुलट गर्ने व्यक्ति एक दिन जिताउने छौं भनी ठान्छौं भने योभन्दा महामूर्खता अरू के होला ?

खगोलशास्त्रका वैज्ञानिकहरू भन्छन् ब्रह्माण्डमा देखिने चम्किला तारा एकदिन ऊर्जा समाप्त भएपछि विस्फोट भएर ब्लैकहोलमा रूपान्तरित हुने गर्दछ । ब्लैकहोलको एरियामा जाने सबै पिण्डलाई उसले आफूभित्र तान्ने गर्छ । यस ब्लैकहोलभित्र छिरेको कुनैपनि वस्तु फेरि कहिल्यै बाहिर आउँदैन । हो ठीक यसरी नै दलाल पूँजीवादी व्यवस्था मानव समाज भित्रको त्यो ब्लैकहोल हो, जसभित्र जनताको अवस्था सुधार्छु भनी छिरेका कुनै पनि पार्टी वा नेता त्यसबाट बाहिर आउन सकेका छैनन् । दलाल पूँजीवादी व्यवस्थाको उपयोग गर्न गएको नेकपा एमाले होस् वा नेकपा माओवादी यिनीहरू अब कहिले पनि फेरि जनताको बीच आउने छैनन् ।

सबै संसदीय राजनीतिक पार्टीहरूको प्रयास भनेको जनता र देशको विकास तथा समृद्धिको आवरणमा दलाल पूँजीवादी व्यवस्थालाई युगौंसम्म टिकाएर सोबापत पाउने दलाली (कमिशन) ले आफ्नो अवस्था र औकात फेर्ने मात्रै हो । त्यस कारण हामीले यो भ्रम पाल्नु हुन्न कि संसदीय व्यवस्थाले देशको विकास र जनताको समृद्धि हुन्छ ।

अब रह्यो कुरा नैतिकताको, जहाँ अदालतले आफ्नो नजीर आफैं काट्ने गर्छ । देशको सर्वोच्च निकायहरू भ्रष्टाचार र कमिशनमा डुबेको हुन्छ , जनताद्वारा बहिष्कृत व्यक्ति चोर बाटोबाट सत्ताको बागडोर सम्हाल्न पुगेको हुन्छ त्यहाँ नैतिकताको कुरा गर्नु नै अनैतिक हुन जान्छ ।

यतिबेला निर्वाचन परिणामले केही मानिस सारै खुशी देखिएका छन् । किनकि उनीहरूको नेता वा पार्टी जितेको छ । आफू दिनरात केही नभनी खटेको सार्थक भएको छ र अब मुलुकको अनुहार फेरिने छ । त्यसैगरी कतिपय मानिस यस कारण खुशी छन् कि यसपालिको निर्वाचनमा अलोकप्रिय, भ्रष्ट तथा गन्हाइसकेका केही  पुराना मधेसी र पहाडी अनुहार चुनाव हारेका छन् । अब आगामी चुनावमा बाँकी भ्रष्ट तथा कामै नलाग्ने नेताहरू पनि हार्दै जानेछन् र व्यवस्था एकदिन राम्रो जनहितकारी हुँदै जानेछ ।

यस्तो सोच्नु पनि राजनीतिक अबुझपन हो । किनकि कुनै समय एमाले परिवर्तनकारी राजनीतिक पार्टी थियो त्यसका नेताहरू तपाईं–हामीले आज देखेको जस्तो भ्रष्ट, दलाल थिएनन् । आफ्नो समयको यिनीहरू निख्खर क्रान्तिकारी र एक नम्बरको माक्र्सवादी थिए, तर आज किन बिग्रे ?

त्यसैगरी कुनै समय नेकपा–माओवादी पनि एक नम्बरको क्रान्तिकारी र माक्र्सवादी थियो तर आज यिनका पनि नेताहरू किन बिग्रे ? कहिले सोच्नुभएको छ ? तपाईलाई लाग्दो होला यिनीहरू स्वार्थी भएका हुनाले, अवसरवादी भएका हुनाले, संशोधनवादी भएका हुनाले तथा पद र पैसामुखी भएका हुनाले बिग्रेका हुन्, तर वास्तवमा यथार्थ यति मात्र होइन । उनीहरू जुन व्यवस्थाभित्र छिरेका छन् त्यो व्यवस्था नै यस्तो हो कि त्यसभित्र जुनसुकै व्यक्ति वा पार्टी छिरेपछि बर्बाद भइहाल्छ ।

त्यसैले समस्या व्यक्ति वा पार्टीमा होइन, यसको जरा राजनीतिक, आर्थिक, सांस्कृतिक व्यवस्थाभित्र छ भन्ने कुरा बुझ्न जरूरी छ । त्यसकारण यो दलाल पूँजीवादी व्यवस्थाकै विकल्प खोज्नुपर्छ । अनि मात्र नेपालजस्तो विकासशील देशले विकास गर्न सक्छ । होइन भने तपाईं–हामीले वर्षौ जतिपटक निर्वाचनमा मतदान गरे पनि उही भारत, पाकिस्तान, बङ्गलादेशजस्तो गरीबी, भोकमरी, चरम भ्रष्टाचार, बलात्कार, बेरोजगारी र महँगीको शिकार भइरहन्छौ । दुई छाक टार्न विदेशी भूमि चहार्ने बाध्यता भोग्नुपरिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here