प्रस, वीरगंज, ९ मङ्सिर/

हालै सम्पन्न सङ्घ तथा प्रदेश चुनावमा मतदाताहरूले लायक उम्मेदवार नभए पनि भएकैलाई छानेर जिताएको बताएका छन् ।

आफूले मत दिएर चुनावमा जिताएका उमेदवारसँग पनि मतदाता खुशी छैन । पटकपटक चुनाव जितेर पनि जनताको समस्या समाधानमा  उनीहरूले रुचि लिएनन् । इच्छित उम्मेदवार नहुँदा प्रतिस्पर्धी उम्मेदवारमध्ये राम्रो व्यक्तिलाई छनोट गरेको पोखरिया नगरपालिका, वसन्तपुरटोल निवासी ७० वर्षीय रघुनाथ भगत बताउँछन् ।

गाउँका अधिकांश बूढापाका, युवा, महिलाले प्रतिस्पर्धामा रहेकामध्ये कम कमसललाई मत दिएर जिताए पनि खुशी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

दुई गठबन्धनको करबलले उम्मेदवार बनेकामध्ये एकको छनोट गर्नुपर्ने बाध्यकारी अवस्थाले मात्र मत दिनुपरेको भक्तको भनाइ थियो ।  लोकतन्त्रमा यस्तो परिपाटी गलत भएको उनी टिप्पणी गर्छन् । आफ्नोभन्दा राम्रोलाई जिताउने वातावरण बनाउनुपर्छ, सबै दलका प्रतिनिधि चुनावी प्रतिस्पर्धामा उत्रनुपर्छ अनि मात्र जनताले रोजेर प्रतिनिधि छनोट गर्छ र विजयी उम्मेदवार पनि मतदाताप्रति उत्तरदायी हुन्छ ।

जनताले गत चुनावमा जिताएका  उम्मेदवार एकपटक पनि भेट्न नआएको उनको गुनासो छ ।

राम्रो उम्मेदवार चाहेको हो तर गठबन्धनले जनभावनाविपरीत उम्मेदवार पठाएको तर्क लङ्गडी निवासी दलसिगार साह कानू भन्छन् ।

दलगत स्वार्थमा देशलाई अहिलेसम्म धरापमा पार्दै आएका तथा जनताका लागि बाध्यकारी वातावरण बनाउने पार्टीहरूलाई यसपालि जनताले राम्रो सबक सिकाएको कानूको भनाइ थियो । विगतमा जनताले अस्वीकार गरेका नेतालाई होइन, नयाँ सोच, विचार तथा भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा जुटेका तथा किसानको समस्या बुझ्ने नेताको अवश्यकता रहेको कानूको भनाइ छ ।

लङ्गडी निवासी राजकुमार गुप्ताले उम्मेदवारहरूले पैसाको खोलो बगाएर चुनाव जितेको प्रक्रिया दिए । यसपालिको चुनावमा पैसोको खोलो बगेको छ, जित्नका लागि मुद्दा अघि सार्नुको साटो पैसाको बिटो देखाएर मतादातालाई लोभमा पारेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here