प्रस, वीरगंज, ८ मङ्सिर/
आमनिर्वाचन अन्तर्गत रौतहट जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना अन्तिम चरणमा रहेको छ ।
बिहीवारसम्म प्रतिनिधिसभाका दुईजनाबाहेक प्रदेशसभा सदस्य सबैको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएका मतपरिणाम अनुसार रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए ।
क्षेत्र नं २ को मतगणना जारी छ । परिणाम घोषणा भएको छैन । स्वतन्त्र उम्मेदवार किरणकुमार साह २६ हजार ९१४ मतले अगाडि छन् भने नेपाली काङ्ग्रेसका महम्मद फिर्दोश आलम २३ हजार ४८२ मतले पछ्याइरहेका छन् ।
क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह दोस्रोपटकको लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३२ हजार ४३७ मत ल्याएर विजयी भए भने अर्का स्वतन्त्र उम्मेदवार २५ हजार २०० मत ल्याएर पराजित भए ।
यसैगरी, क्षेत्र नं ४ मा नेकाका उम्मेदवार देवीप्रसाद तिमल्सिना ३४ हजार १६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव रेग्मीले २६ हजार ५५१ मत ल्याए । तिमल्सिनाले २०७४ सालमा पनि यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए ।
प्रदेशसभातर्फ रौतहट क्षेत्र नं १ (१) बाट नेकाका नागेन्द्र साह १० हजार ५०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले आठ हजार ८६३ मत ल्याए । यो क्षेत्रबाट २०७४ सालमा राजपाबाट बाबूलाल साह जितेका थिए ।
१ (२)बाट नेकाका कृष्ण यादव १२ हजार ४८१ मत ल्याएर जिते भने स्वतन्त्र उम्मेदवार राजेश चौधरीले ११ हजार ४०० मत ल्याए । यो क्षेत्रबाट २०७४ सालमा मधेसी जनअधिकार फोरमका योगेन्द्रप्रसाद यादव विजयी भएका थिए ।
२ (१)बाट एमालेका महम्मद जयद आलम १३ हजार ५३२ मत ल्याएर विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र साह छ हजार ८७२ मत ल्याएर पराजित भए । यो क्षेत्रबाट २०७४ सालमा नेकाका नागेन्द्रप्रसाद सिन्हा जितेका थिए ।
२ (२)बाट नेकपा एसका कनिष पटेल १० हजार ४४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर यादवले १० हजार ३३ मत ल्याए । यो क्षेत्रबाट २०७४ सालमा मधेसी जनअधिकार फोरमबाट यादव जितेका थिए ।
३ (१)बाट स्वतन्त्र उम्मेदवार केशव राय १२ हजार २५५ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी जसपाकी पूजा चौधरी १० हजार १३२ मत ल्याइन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका नागेन्द्रप्रसाद यादव जितेका थिए ।
३ (२)बाट नेकाका सुनील यादव १३ हजार ८३४ मत ल्याएर जितेका छन् । स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहा १० हजार ७०१ मत ल्याएर पराजित भए । २०७४ सालको चुनावमा कुशवाहा माओवादीबाट जितेका थिए ।
४ (१)मा माओवादी केन्द्रका युवराज भट्टराई १५ हजार ३१८ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अखिलेश्वर चौधरीले १० हजार २८१ मत ल्याए । यो क्षेत्रबाट २०७४ सालमा नेकाका धनलाल थोकर जितेका थिए ।
४ (२)बाट जसपाका शेख अब्दुल कलाम आजाद आठ हजार ७४१ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सञ्जय यादवले पाँच हजार ८७५ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ सालमा आजाद नै जितेका थिए ।
यसपटकको निर्वाचनमा रौतहटबाट वाम–लोकतान्त्रिक गठबन्धनले बढी सिट जितेको छ ।
प्रतिनिधिसभामा घोषित परिणामको दुवै क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते भने प्रदेशसभा सदस्यमा पाँचवटा सिटमा जीत हात पारेको छ ।
एमाले–जसपा गठबन्धनबाट दुई र एकजना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् ।