प्रस, सिराहा, ४ मङ्सिर/

सिराहामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाका २२१ मतदानस्थल र ५०५ मतदान केन्द्रबाट ६० प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालय, सिराहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय, सिराहाका सूचना अधिकारी गणपत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतदान अनुसार कम्तीमा ६० र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको हो। जिल्लाका प्रायः सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भएको प्रमुख जिल्ला अधिकारी लालबाबू कबाडीले जानकारी दिए। उनले जिल्लाको कर्जन्हा नपा–६ मतदानस्थलबाहेक सबै ठाउँमा सामान्यरूपमा मतदान भएको जनाए। कर्जन्हा नपा–६ मा बिहानै मतपेटिका राख्ने विषयमा दलका प्रतिनिधिहरूसँग भएको विवाद नियन्त्रण गर्न प्रहरीले तीन राउन्ड हवाई फायर गर्नुपरेको थियो।

सबै मतपेटिका मतगणना स्थलसम्म पु–याएर भोलि मात्र मत गन्न शुरू गरिने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए। उनका अनुसार रातिसम्म ढिलो चाँडो सबै ठाउँका मतपेटिका मतगणना स्थलसम्म ल्याएपछि भोलिबाट गणना गर्ने योजना बनिरहेको बताए। क्षेत्र नं ३ का निर्वाचन अधिकृतसमेत रहेका राईले यो क्षेत्रका सबै उम्मेदवार र दलका प्रतिनिधि तथा नेताहरूलाई भोलि बिहान १० बजे बैठकको लागि बोलाइएको बताए। उनीहरूसँगको छलफलपछि ११ बजेबाट मतगणना शुरू गर्ने योजना बनेको सुनाए।

क्षेत्र नं १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नं २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नं ३ को चन्द्र माध्यमिक विद्यालय सिराहा र क्षेत्र नं ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने राईले जानकारी दिए।  जिल्लामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुई अन्य मतदातासहित जम्मा चार लाख २२ हजार ७१२ मतदाता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here