प्रस, परवानीपुर, ३ मङ्सिर/
पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय द्विवेदीमाथि दुव्र्यवहार भएको समाचार छ ।
जसपा–एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादव पक्षधरका कार्यकर्ताहरूले हातपात गरेको द्विवेदीनिकट स्रोतले आरोप लगाएका छन् ।
ग्रामीण भेगबाट घुमफिर गरी फर्किने क्रममा करीब राति ८ः४५ बजे वीरगंज महानगरपालिका–३१ मिलनचोकमा करीब आधा दर्जन जसपाका कार्यकर्ताले द्विवेदी सवार गाडी रोकेर उनलाई कलर समातेर गाडीबाट निकालेर हातपात गरेका थिए ।
सो घटनाको प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगेको थियो । हातपात गरेर यादव पक्षधर कार्यकर्ताहरू फरार भएपछि द्विवेदी पक्षधरका कार्यकर्ताहरू सो ठाउँमा जम्मा भएका थिए ।
पर्सा प्रहरीको टोली पुगेर स्वतन्त्र उम्मेदवार द्विवेदीको उद्धार गरी वीरगंज ल्याएको थियो ।
यस विषयमा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई घेरा हाली झैंझगडा भएको खबर आएपछि हामीले उद्धार गरी ल्याएको बताए । उनको गाडीबाट केही प्रचार सामग्री मात्र भएको तर रकम बरामद नभएको उनले जवाफ दिए । साथै उनले घटनाको वास्तविक छानबीन हुने बताए ।
यस विषयमा पर्सा क्षेत्र नं १ का एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपाका प्रदीप यादवले एउटा गाडीमा बसरुद्दीन अन्सारी र अर्को गाडीमा द्विवेदी प्रचार सामग्री लिएर रकम बाँड्न हिंडेको भन्ने खबर गाउँलेले गरेपछि कार्यकर्ताहरूले द्विवेदीको गाडी घेरेर सोधपूछ गरेको बताए । उनले अन्सारीको गाडीमा रकम रहेको र उनी गाडी लिएर फरार भएको आरोप लगाए ।