धर्मेन्द्र चौरसिया, पोखरिया, ३ मङ्सिर/

पर्सा जिल्लाको मतगणनाको लागि वीरगंजमा ठाकुर राम बहुमुखी क्याम्पस  र जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, पोखरियामा मतगणनास्थल तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्साले जनाएको छ।

पर्साका चारवटै निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ र २ को मतगणना ठाराब क्याम्पस वीरगंज र क्षेत्र नं ३ र ४ को पोखरिया नगरपालिकास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियामा हुने पर्साको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए।

शुरूमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना गरिने बताइएको छ। हरेक क्षेत्रका लागि तीनवटा कोठा तयार पारेर मतगणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ठाकुर राम बहुमुखी क्याम्पसमा मतगणना गर्नका लागि आठवटा कोठा तयार पारिएको छ। मतगणनास्थलमा तारजाली लगाउनुका साथै सिसिटिभी क्यामेरासमेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए। उनले मतपेटिका भण्डारण कक्षमा सिसिटिभी क्यामेरा जडान गरिएको र कोठामा तारजाली लगाइएको बताए।

मतगणनास्थल तयार पार्नका मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रवारदेखि टोली खटिएको छ।

यसैगरी, पर्सा क्षेत्र नं ३ र ४ को मतगणना हुने स्थल जिल्ला उच्चाङ्गल मावि पोखरियाको मतगणनास्थल तयारीको काम अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

परिचयपत्रको आधारमा पनि मतदान गर्न सकिने

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ। 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कल प्रति लिएर मतदान गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here