प्रस, बारा, ३ मङ्सिर/

बाराका १४५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।

आइतवार हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले बारा जिल्लाका ३०५ मतदानस्थलमध्ये १४५ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

जिल्लामा १५८ मतदानस्थल संवेदनशील र ५२ स्थल सामान्य संवेदनशील रहेको उनले बताए।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले जिल्लाका मतदानस्थललाई वर्गीकरण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको उनले बताए।

निर्वाचनका लागि जिल्लाभित्र एक हजार ५१९ नेपाल प्रहरी र तीन हजार १४४ म्यादी प्रहरी खटिने उनले बताए। गाउँपालिका र नगरपालिकामा दुर्ईवटा मोबाइल टोली तथा उपमहानगरपालिकामा तीनवटा मोबाइल टोली खटिने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

यसैगरी, बाराका चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ।

बारा क्षेत्र नं १ को मतगणना कोल्हवीमा रहेको नगरपालिकाको सभाहल र क्षेत्र नं २ को बरियारपुरस्थित गढीमाई महेन्द्र उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत पूर्णेश्वर उपाध्यायले जानकारी दिए।

यसैगरी, क्षेत्र नं ३ को मतगणना कलैया उपमनपा–३ गङ्गापुरस्थित शैक्षिक तालीम केन्द्रमा र क्षेत्र नं ४ को मतगणना सिमरास्थित नेपाल राष्ट्रिय उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए।

मतपेटिकाहरू सङ्कलन भएपछि उम्मेदवारहरूसँग छलफल गरेर त्यही दिनदेखि मतगणना शुरू गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए।

मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडानसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here