प्रस, पोखरिया, ३ मङ्सिर/
पर्सा क्षेत्र नं ४ मा प्रतिनिधिसभाका उम्मेदवार एमालेका जालीम मियाँका छोरा शरीफ मियाँ नमूना मतपत्रसहित पक्राउ परेका छन्।
शरीफलाई प्रहरीले मौन अवधिमा गाडीबाट नमूना मतपत्र र स्वस्तिक छापसहित शनिवार पक्राउ गरेको हो। निर्वाचन आचारसंहिता अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि स्थिर समय शुरू भएको र सो समयदेखि भोलि मङ्सिर ४ गते बिहान ७ बजेसम्म चुनावी प्रचारप्रसार, भेला, सम्मेलन आदि गर्न निषेध गरिएकोमा सहवीरले चुनावी प्रचारको लागि नमूनापत्रसहित गाडीमा घुमेर चुनाव प्रचारप्रसार गरिरहेको कारण पक्राउ गरिएको बुझिन आएको छ।
शरीफलाई कालिकामाई गाउँपालिका–१ मुडलीबाट बा.१४च ४७४८ नम्बरको गाडीबाट ५०८ थान नमूना मतपत्र र चारवटा स्वस्तिक चिह्नसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
प्रवक्ता गिरीले शरीफलाई चालकसहित पक्राउ गरिएको र आवश्यक कारबाईको लागि बरामद नमूना मतपत्र, स्वस्तिक र गाडी क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालयलाई जिम्मा लगाइएको बताए।