काठमाडौं, २७ कात्तिक/रासस

नेपालले पहिलोपटक आइसिसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्तरूपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

त्यसैगरी, आइसिसीले आइतवार सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यू–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी, सन् २०२५ को यू–१९ महिला विश्वकप मलेशिया र थाइल्यान्डमा संयुक्तरूपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्तरूपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलको स्तर माथि पु¥याउन मदत पुग्ने विचार व्यक्त गरे । उनले पहिलोपटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए ।

अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करीब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here