प्रस, वीरगंज, २३ कात्तिक/

पर्सा क्षेत्र नं ३ (२)बाट जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्यकी उम्मेदवार डा मधु गुप्ता कुर्मीले बुधवार वीरगंजमा कार्यक्रम आयोजना गरी चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन् ।

नेपाल पत्रकार महासङ्घ, पर्सामा आयोजित कार्यक्रममा उनले जारी गरेको प्रतिबद्धतापत्रमा अधिकारको आन्दोलनमा शहीद तथा घाइतेप्रति उच्च सम्मान र उनीहरूका परिवारका लागि शिक्षा, रोजगार र जीवनयापनको योजना ल्याइने उल्लेख गरेकी छन् ।

सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउने र त्यसका लागि आवश्यक नीति तथा नियम निर्माणमा सक्रिय रहनेलगायतका कुराहरू प्रतिबद्धतापत्रमा उल्लेख छन् ।

शिक्षामा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाइने र कन्या विद्यालयको स्थापना गरिने, सामुदायिक विद्यालयको स्तरोन्नति र दरबन्दी अनुसार शिक्षक तथा कर्मचारी आपूर्ति गरिने र उच्च माध्यमिक तहसम्म निश्शुल्क शिक्षाको नीतिगत प्रबन्ध मिलाइने पनि उल्लेख छ ।

पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रूपान्तरण गरिने, उपस्वास्थ्य चौकीमा दरबन्दी अनुसार जनशक्ति र औषधि उपलब्धता, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहुलियतलाई स्वास्थ्यका आधारको रूपमा अघि सारिने उल्लेख छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मला देवकोटा, डा मधुका पिता हरिनारायण रौनियारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here