प्रस, वीरगंज, २३ कात्तिक/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलले बुधवार भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग भियतनाम चेम्बरको बैठक कक्षमा भेटघाट तथा अन्तक्र्रिया गरेको छ ।
सोही अवसरमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर पनि भएको अध्यक्ष गुप्ताले बताए ।
सम्झौतापत्रमा वीरगंज उवासङ्घको तर्फबाट अध्यक्ष गुप्ता तथा भियतनाम उवासङ्घको तर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा दुवै संस्थाले व्यावसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यावसायिक क्षेत्रको प्रवद्र्धनको लागि सहजीकरण गर्ने उल्लेख छ । सम्झौतापत्रले दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउन सहयोग गर्ने अध्यक्ष गुप्ताले बताए ।
सम्झौता अनुसार दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरूमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकता अनुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने कुराहरू उल्लेख छन् । यसअघि हिजो वीउवासङ्घ र सिङ्गापुर उवासङ्घबीच एमओयूमा हस्ताक्षर भएको थियो ।
वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी–व्यापारीहरूबीचको बैठकले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थपिएको र भियतनामसँग व्यापार वृद्धि र दुवै देशका उद्यमीहरूको संयुक्त लगानीमा वीरगंजमा नयाँ लगानी भिœयाउन भेटघाटले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष गुप्ताले बताए ।
नेपालको आर्थिक राजधानीका रूपमा परिचित वीरगंज र भियतनामको आर्थिक केन्द्रका रूपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बरबीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगंजलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघनरूपमा प्रवेश गराउन मदत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको अध्यक्ष गुप्ताले प्रतिक्रिया दिएका छन् ।
उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका पूर्वअध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रूँगटा, सुनीलकुमार खेतान, रवीन्द्रकुमार बर्णवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालालप्रसाद साह, प्रकाश खण्डेलवाल, अङ्कितकुमार खेतान, प्रभात रूँगटा, हरि पन्त, डा लक्ष्मी थापालगायतको सहभागिता छ ।