कीभ, २३ कात्तिक/सिन्ह्वा
रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रूससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान मङ्गलवार पनि पुनः दोहो¥याएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् ।
इटालीको एक दैनिक पत्रिका ला रिपब्लिकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन रूससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो शर्त हो भनेको युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले जानकारी दिएको छ ।
हाल रूसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार मिखाइलोले यदि रूससँग वार्ता गर्ने हो भने त्यसअगावै उसले आफ्ना सबै सेना युक्रेनबाट फिर्ता गरिसक्नुपर्छ भने ।
हालै मात्र युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र रूसका रक्षामन्त्रीबीचमा कुराकानी भइरहेको भन्ने समाचारको पनि उनले सो अन्तर्वार्तामा खण्डन गरे ।
उनले युक्रेनको विषयलाई लिएर अहिले रूस र कुनै पनि पश्चिमा देशसँग छलफल तथा निर्णय नभएको पनि स्पष्ट गरेका थिए ।
उनले युक्रेनको सहभागिता, सहमतिविना युक्रेनका बारेमा कहीं पनि कुनै निर्णय हुन नसक्ने र युक्रेनी जनताले पनि आफ्नाबारेमा अरू कसैले गर्ने निर्णयलाई नमान्ने पनि स्पष्ट गरेका थिए ।
गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल शहरमा रूस र युक्रेनका बीचमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसयता यी दुई देशबीचमा प्रत्यक्षरूपमा वार्ता हुन सकेको छैन । रासस