राजनीतिक दल तथा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । गाउँ, नगर तथा महानगरहरूमा धेरै टोल, हरेक टोलका बासिन्दा चुनावको क्रममा उम्मेदवारहरू आफ्ना गाउँटोलमा प्रचारप्रसारका लागि आए/नआएको सूक्ष्मरूपले बुझिरहेका हुन्छन् । “नजीकको टोलमा आएर मेरो टोलमा चाहिें उम्मेदवार किन आएन ।” एउटा उम्मेदवार नपुगे अर्को पुग्ने उम्मेदवारतर्फ मतदाता ढल्केला कि भन्ने चिन्ता छ । त्यसैगरी, चुनाव प्रचारको क्रममा कसको जुलुस ठूलो छ, पर्चा–पम्प्लेट, ब्यानर कसको धेरै छ भन्नेतर्फ पनि मतदाताको चासो छ । प्रचारशैली जसको व्यापक छ, उसैको पलडा भारी ठान्ने मानसिकता उनीहरूमा छ । त्यति मात्रै होइन, चुनाव प्रचारको क्रममा उम्मेदवार एवं तिनका नेता कार्यकर्ताको हाउभाउतर्फ पनि मतदाताले ध्यान दिइरहेका हुन्छन् । मतदाताको भावनालाई राम्रोसँग पढेका नेताहरूले जनभावनाअनुरूपको प्रचारशैली अपनाउँछन् । गोहीको आँसु देखाउन खप्पिस अधिकांश उम्मेदवार चुनाव प्रचारमा अगाडि छन् । चुनावको मुखमा मञ्चन गरिएका नाटकलाई यथार्थ ठानेर प्रभावित हुनेहरू रनभुल्लमा पर्नु स्वाभाविकै हो ।
पाँच वर्ष नसम्झेका नेताले चुनावको मुखमा फोन मात्रै गर्दा पनि पुलकित भएर मक्ख पर्ने र लुटुपुटु गरिहाल्ने प्रवृत्ति सर्वसाधारणमा छ । त्यसैले त चुनावको बेलामा मात्रै नेताहरू ब्यूँझने गरेका हुन् । ‘जसोजसो जनता उसोउसो नेता ।’ नागरिक असल न्यायाधीशको भूमिकामा रहन सकेको छैन । चुनावको बेला गाउँ, टोलमा उम्मेदवार आऊन् या नआऊन्, प्रचारप्रसारमा तडकभडक गरून् या नगरून्, रक्सी–मासु खुवाऊन् वा नखुवाऊन्, त्यसतर्फ नागरिक प्रभावित हुनुहुँदैन । नागरिक धर्म निभाउने हो भने जब चुनाव सम्पन्न हुन्छ, त्यही दिनदेखि जनप्रतिनिधिको मूल्याङ्कन शुरू गर्नुपर्छ । कार्यावधिभरिकै क्रियाकलाप एवं कामकारबाईको मूल्याङ्कन गरेर मतदानको माध्यमबाट फैसला दिने हो । तर त्यसो हुन सकिरहेको छैन । जबसम्म न्यायकर्ताले हचुवाको भरमा वा प्रभावित भएर फैसला दिन्छ, तबसम्म सुशासन र समुन्नतिको कल्पना पनि गर्न सकिंदैन । हाम्रो मुलुकमा यही भएको हो ।
बाजेले मतदान गरे, बुबाको जिन्दगी मतदान गरेरै बित्यो, छोरानाति मतदान गरिरहेकै छन्, अवस्था जस्ताको त्यस्तै । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गर्नुपर्ने नागरिकको अधिकार हो । योग्यता र क्षमता अनुसारको रोजगार हुनुपर्छ, सकिंदैन भने बेरोजगारी भत्ता दिइनुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, असहाय, विकलाङ्गलाई राज्यले संरक्षण दिनुपर्छ । त्यसको निम्ति राज्य समृद्ध हुनुपर्छ । राज्य समृद्ध हुन प्राकृतिक स्रोत र दूरदृष्टि भएका नेतृत्व चाहिन्छ । मानवनिर्मित साधन त्यसपछिको कुरा हो । हाम्रो मुलुक प्राकृतिक स्रोतले सम्पन्न छ । यहाँ दूरदृष्टि, योजना तथा कार्यक्रम भएका इमानदार नेतृत्वको अभाव छ । त्यस्तो सक्षम नेतृत्व स्थापित हुनका लागि आफ्नो भूमिका तथा जिम्मेवारीप्रति इमानदार नागरिक चाहिन्छ । मुलुकका सबै राजनीतिक दल र नेतालाई थोकमा एउटै देख्ने अर्को महाभूल पनि यहाँ गरिंदैछ । यहाँ धेरै बेइमान, बेइमान, थोरै बेइमान र इमानदार सबै किसिमका छन् । त्यसमध्ये धेरै बेइमानलाई छाँट्दै जाने हो भने त्यसबाट अरूले पनि सबक सिक्ने हुँदा कालान्तरमा इमानदारहरूको बाहुल्यता हुन सक्छ । आशावादी बनौं र हरेक मतदाताले यही चुनावबाट बेइमानलाई छाँट्दै जाने प्रतिबद्धताका साथ मतदान अभियान शुरू गरौं ।