नितेश कर्ण, वीरगंज, २० कात्तिक/
जीतपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष सुनीलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर रिहा गरेको छ । जीतपुरसिमरा उपमनपा अन्तर्गतका वडाहरूमा सरसफाइ नभएको विषयमा वडाध्यक्ष गुप्तासहित स्थानीयको टोलीले आइतवार उपमहानगरपालिकामा तालाबन्दी गरेको थियो ।
निर्वाचन प्रयोजनका सामग्रीहरूसमेत सोही कार्यालयमा भएको कारण प्रहरीले गुप्तालाई पक्राउ गरेको थियो । वडाध्यक्षसहितको टोलीले नगरप्रमुख राजन पौडेललाई सरसफाइ नगरिएको सम्बन्धमा ध्यानाकर्षण गराउन गएको थियो तर नगरप्रमुख पौडेलले उनीहरूसँग भेटघाट नगरेको स्थानीयको आरोप छ ।
नगरप्रमुख पौडेलको कक्षमा पुगेका स्थानीयले भेट गर्न खोज्दा नगरप्रमुखले भेट नगरी सोही कार्यालयको चौथो तलामा गएको र त्यहाँ स्थानीयलाई प्रवेशमा निषेध गरिएको थियो । सो स्थानमा निर्वाचन प्रयोजनका सामानहरू राखिएको र निषेधित क्षेत्र भनिए पनि स्थानीयले नगरप्रमुखसँग मात्र भेटघाट गर्न खोजेको भन्दै अडान लिएपछि प्रहरीले वडाध्यक्ष गुप्तालाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय, सिमराको टोलीले गुप्तालाई पक्राउ गरेपछि स्थानीयले मेनरोडमा टायर बालेर प्रदर्शन गरेका थिए । जीतपुरसिमरा उमनपाका बासिन्दाहरूले एक सातादेखि सरसफाइ नभएको र वडाहरूमा फोहरको डुङ्गुर हुनुका साथै मेनरोडमा पनि फोहरले गिजोलिएको हुँदा सरसफाइ कार्य चुस्त दुरुस्त गर्न माग राखेका थिए । उनीहरूले हेटौंडा नगरपालिका र जीतपुरसिमरा उमनपाको सरसफाइको ठेक्का गत वर्ष र यस वर्ष पनि पुरानै ठेकेदारले लिएको तर सरसफाइप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।
स्थानीय एकजना महिलाले दशैंपछि सरसफाइ नभएको र नगरप्रमुखको ध्यानाकर्षण गराउन वडाध्यक्षसहितको टोली जाँदा प्रहरी परिचालन गरिएको आरोप लगाइन् । अर्का एकजना स्थानीयले एक सातादेखि सरसफाइ नभएको र यसबारेमा नगरपालिकाको ध्यानाकर्षण गराउँदा बेवास्ता गरिएको बताए ।
रिहा भएका गुप्ताले फोहर सङ्कलन नभएसम्म निरन्तर आन्दोलन गर्ने बताए । उनको रिहाइसँगै मेनरोडमा टायर बालेर प्रदर्शन गरी सवारी आवागमन अवरुद्ध गरेकोमा खुला गरिएको थियो ।