प्रमोद यादव, पंचगावाँ, २० कात्तिक/
पर्साको भलुवाही, जमुनिया, कर्जनिया र सिंगियाही खोलाबाट अवैधरूपमा गिट्टी, बालुवाको चोरी तस्करी निर्बाधरूपमा हुने गरेको छ ।
राष्ट्रिय जङ्गलसँग सीमा जोडिएका खोलाहरूमा दिनदहाडै तस्करहरूले ट्याक्टरमा ढुङ्गा, गिट्टी, बालुवाको तस्करी गर्ने गरेका छन् । सो क्षेत्रमा रहेका वन कर्मचारी, सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणप्रति कुनै चासो देखाउने गरेका छैनन् ।
भलुवाही खोलाबाट शङ्करसरैया, हरैया, सखुवानीका तस्करहरूले ट्याक्टरमा गिट्टी, बालुवा लोड गरेर भारतको सीमा क्षेत्रमा पु¥याउने गरेका छन् । सो क्षेत्रका गणेश चौधरी, वीरेन्द्र चौधरी, बालेश्वर चौधरी, रामराज चौधरीले आफ्नो ट्याक्टरमा बालुवा, गिट्टी लोड गरी तस्करी गर्ने गरेको प्रत्यक्ष्दर्शीहरू बताउँछन् । यसैगरी, जमुनिया खोलाबाट सीताराम सहनी र वीरेन्द्र सहनीलगायतले नदीजन्य पदार्थको उत्खनन गरी ट्याक्टरमा राखेर तस्करी गर्ने गरेको भएपनि सम्बन्धित निकाय मूकदर्शक बनेका छन् ।