प्रस, सेढवा, १९ कात्तिक/
सेवाग्राहीहरूलाई प्रभावकारी सेवाप्रवाहका लागि विभिन्न कार्यालयमा जडान गरिएका सिसिटिभी क्यामरा तथा ई–हाजिरी मेशिन मर्मतसम्भारको अभावमा काम नलाग्ने भएका छन् ।
सेवाप्रवाह प्रभावकारी तथा शिक्षक, विद्यार्थीको निगरानीका लागि स्थानीय तहले सिसिटिभी क्यामरा र ई–हाजिरी मेशिन जडान गरेको थियो । तर अहिले अधिकांश सिसिटिभी र ई–हाजिरी मेशिन सञ्चालनमा नरहेर बन्द छन् ।
ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका गाउँपालिका कार्यालयका साथै माध्यमिक तहका विद्यालयहरूमा सिसिटिभी क्यामरा र ई–हाजिरी मेशिन जडान गरिएका थिए ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं १ स्थित नेरामावि, सिरही सथवलका प्रधानाध्यापक दिलीप बुढाथोकीका अनुसार जडान गरिएका सिसिटिभी क्यामरा जडान भएको केही दिनमैं बिग्रेर बन्द रहेको बताए । सोको मर्मत गरी सञ्चालनमा ल्याउनका लागि मौखिकरूपमा सम्बन्धित निकायलाई पहिलै जानकारी गराए पनि कुनै पहल नभएको प्रअ बुढाथोकीले बताए ।
यता ठोरी गापा वडा नं ४ स्थित उच्च माध्यमिक विद्यालयका प्रअ नारायण लामाले विद्यालयमा सिसिटिभी क्यामरा जडान नभएको तर ई–हाजिरी जडान भएको बताए । सो पनि बिग्रेको कारण सञ्चालनमा नरहेको प्रअ लामाले बताए ।
पटेर्वासुगौली गापाका सूचना प्रविधि अधिकृत सोलेन्द्र पञ्जियारले कार्यालयमा जडान सिसिटिभी क्यामरा सञ्चालनमा रहेको बताए । विद्यालयहरूमा जडान गरिएका सिसिटिभी क्यामरा सञ्चालनमा रहेका पनि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा गोपनीयता कायम गर्नका लागि सबै सिसिटिभी एउटै कोठा राखिएको अधिकृत पञ्जियारले बताए । वडा नं ५ स्थित मावि निचुटामा जडान गरिएका दुईवटा सिसिटिभी चोरी भएको उनले बताए । यस्तै, वडा नं २ रङ्गपुर बजारमा जडान गरिएका सिसिटिभी सञ्चालनमा रहेको र सोसम्बन्धी प्राविधिक सामग्री प्रहरी चौकी रङ्गपुरको कार्यालयमा राखिएको अधिकृत पञ्जियारले बताए ।
सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले आफू निर्वाचित भएर आएपछि पालिकाको कार्यालयमा रहेका सिसिटिभी क्यामरा मर्मत गरी सञ्चालनमा ल्याएको बताए । विद्यालयहरूमा पनि क्यामरा जडान भएको तर सञ्चालनमा रहेको/नरहेकोबारे आफूलाई जानकारी नभएको अध्यक्ष यादवले बताए । बिग्रेका र सञ्चालनमा नरहेका भए मर्मतसम्भार गरी सञ्चालनमा ल्याउने अध्यक्ष यादवले बताए ।