प्रस, निजगढ, १९ कात्तिक/
बारा क्षेत्र नं. ४ बाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका प्रतिनिधिसभा उम्मेदवार किशान श्रेष्ठले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् ।
शनिवार आयोजित चुनावी कार्यक्रममा उम्मेदवार श्रेष्ठले संविधानको रक्षार्थ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे । उनले यो चुनाव अग्रगमन र प्रतिगमनबीचको महासङ्ग्राम भएकोले जनताको लामो निरन्तर सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाइँ राख्न वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आवश्यक भएको जिकिर गरे । उनले आफ्नो क्षेत्रको विकासमा निरन्तर सक्रिय रह्ने दाबी पनि गरे ।
सोहि क्षेत्रबाट प्रदेशसभामा लोसपाका उम्मेदवार जितेन्द्र सोनलले जनताहरू सचेत भइसकेको र एमाले र सो पार्टीसँग साठगाँठ गरेका उम्मेदवारलाई पराजित गर्ने बताए । उनले नागरिकता जस्तो गम्भीर विषयमा एमालेले चलखेल गरेको कारण मधेसका जनताहरू नागरिकता पाउन नैसर्गिक अधिकारबाट वञ्चित भएको आरोप लगाए । उनले सबै थरिको आक्रोश अभिव्यक्त गर्ने अवसर आएको र यो अवसर नचुक्न सुझाए ।