- डा शिवशङ्कर यादव
यदि यो सोधियो कि के कसैले प्राणलाई बाँधेर राख्न सक्छ ? तब सबै मानिसको उत्तर ‘नो’मा नै आउँछ । जो बहुत ज्ञानी र जानकार छ, उसले एक यन्त्रको नाम लिन्छ, जसको नाम भेन्टिलेटर हो । भेन्टिलेटरले दुई/चार दिन प्राणलाई बाँधेर राख्न सक्छ । तर त्यसमा मानिसका सबै गतिविधि बन्द हुन्छन् । तर सय वर्षसम्म प्राणलाई बाँध्न सक्ने जसमा मानिसका सबै गतिविधि सञ्चालन पनि गराउन सक्ने क्षमता भएको असली भेन्टिलेटर त हाम्रो फोक्सो हो, प्राकृतिक र जीवित भेन्टिलेटर । आज यसै प्राणलाई बाँधेर राख्न सक्ने र शरीरलाई सय वर्षसम्म निष्प्राण हुन नदिने फोक्सो र श्वसनप्रणालीको सङ्क्षेपमा वर्णन गरिनेछ ।
नेपालीमा फोक्सो शब्दको उत्पत्तिको जरो मलाई थाहा छैन । तर अङ्ग्रेजीमा यसलाई लङ, लैटिनमा पल्मोन र ग्रीकमा न्युमोन भनिन्छ । त्यसैबाट न्युमोनिया वा पल्मोनरी डिजिज आदि शब्द बनेका छन् । हाम्रो शरीरलाई एउटा मांसपेशी जसलाई डायफ्राम भनिन्छ, त्यो दुर्ई भागमा हुन्छ । तलको भागलाई एब्डोमेन भनिन्छ, जसमा पाचन अङ्गहरू बस्छन् । माथिको भागलाई छाती वा चेस्ट भनिन्छ जसमा दुर्ईवटा फोक्सो र दुवैको बीचको बायाँ भागमा मुटु बसेको हुन्छ । फोक्सो दायाँ र बायाँ गरी दुईवटा हुन्छन् । यी दुई फोक्सो करड्ढो दायाँ/बायाँ भागमा टाँसिएर बसेका हुन्छन् । अथवा करङद्वारा बनेको पिंजरामा दुर्ई फोक्सो र एक मुटु कैद हुन्छन् । तर करङबाट फोक्सोलाई एउटा झिल्लीले अलग गर्छ, जसलाई प्ल्युरा भनिन्छ । यस झिल्लीका दुर्ईवटा परत हुन्छन्– बाहिरी र भित्री । दुवैको बीचमा एउटा अल्प मात्रामा द्रव्य भरिएको हुन्छ, ताकि फोक्सो फैलिंदा र खुम्चिंदा दुवै परतमा घर्षण नहोस् । भित्री झिल्ली फोक्सोसँग टाँसिएको हुन्छ, जुन भित्र पसी फोक्सोलाई लोव भन्ने भागमा बाँड्छ । यसरी यसले दायाँलाई तीन र बायाँलाई दुर्ई लोवमा बाँड्छ । यो किन भने बायाँ भागमा मुटुलाई स्थान दिनको लागि बायाँ फोक्सो सानो हुन्छ । तापनि एउटा सानो लिंगुला भन्ने तेस्रो संरचना पनि हुन्छ । दायाँ ठूलो हुन्छ । फोक्सोको तलको भाग कन्केभ र डायफ्राम डोमसेपेड माथिबाट कन्भेक्स हुन्छ । फोक्सोको कन्केभ तल्लो भाग डायफ्रामको कन्भेक्स भागसँग अडेस लगाएर बस्छ । फोक्सोको काम फैलिनु र खुम्चिनु हो । जसरी बैलुनमा हावा भरियो भने फुलेर ठूलो हुन्छ र हावा निस्कियो भने खुम्चिएर सानो हुन्छ । ठीक त्यही बैलुन हो, फोक्सो । जब यसको भित्र हावा जान्छ, तब फुल्छ र जब हावा बाहिर जान्छ, तब सानो हुन्छ । तब छाती पूर्ववत् अवस्थामा आउँछ । यस अर्थमा हावा तान्नु ‘एक्टिभ’ प्रक्रिया र हावा छाडनु ‘प्यासिभ’ प्रक्रिया हो । मतलब यो कि हावा तान्ने काम गर्नुपर्छ तर छोड्ने काम आफसेआफ हुन्छ । करड्ढो बाहिर र भित्र दुवैतिर मांसपेशीहरू हुन्छन् । बाहिरीलाई एक्सटर्नल कोस्टल र भित्रीलाई इन्टरनल कोस्टल मांसपेशी भनिन्छ । जब बाहिरी खुम्चिन्छ, तब छाती फैलिन्छ, डायफ्राम सपाट हुन्छ र फलस्वरूप फोक्सो पनि फैलिन्छन् । छातीभित्र हावाको चाप बाहिरी हावाको चापभन्दा छ एमएम कम भएर जान्छ । यो त सबैलाई थाहा होला नै कि हावाको बहाव बढीबाट कम चापतिर हुन्छ । अतः बाहिरबाट हावा नाकको प्वाल भएर भित्र हुलिन्छ । यसै बाहिरबाट फोक्सोको भित्रसम्मको हावाको यात्रालाई ‘इन्स्पिरेशन’ भनिन्छ । अब करड्ढो भित्री मांसपेशी खुम्चिन्छन्, डायफ्रामले पूर्ववत् अवस्था अख्तियार गर्छ । फलस्वरूप छातीभित्रको हावाको चाप बाहिरी हावाको चापभन्दा बढी भएर जान्छ । स्वभावतः तब हावा फोक्सोबाट बाहिर आउँछ । यसैलाई ‘एक्स्पिरेशन’ भनिन्छ र दुवैलाई एक साथ रेसपिरेशन भनिन्छ । यसलाई ‘इन्हेलेशन’ र ‘एक्सहेलेशन’ पनि भनिन्छ र दुवैलाई ‘ब्रिदिङ’ भनिन्छ । वास्तवमा पछिल्लो नै उचित हो किनभने वास्तवमा रेसपिरेशन भन्ने क्रिया आक्सिजनको उपस्थितिमा सेलमा हुने मेटाबोलिज्मलाई भनिन्छ, जो केमिकल प्रक्रिया हो । तर फोक्सोमा विनिमय हुने कुरा भौतिक प्रक्रिया हो । फोक्सोको वजन १.३ किलो हुन्छ र यसको आकार २७ सेमी लामो हुन्छ । दायाँमा एपेक्स, मिडिल र लोवर तीन लोव तर बायाँमा एपेक्स भएपनि अपरमा नै गनिन्छ र अर्को लोवर लोव हुन्छन् । फोक्सो जुन ससाना बैलुनले बनेको हुन्छ, त्यसलाई अल्भियोलस भनिन्छ, जसको आकार २०० माइक्रोन हुन्छ । प्रत्येक फोक्सोमा यसको सङ्ख्या ३५० मिलियन हुन्छ र सबैलाई जोडियो भने यसको क्षेत्रफल १०० वर्गमिटर अथवा एक टेनिस कोर्टको बराबर हुन्छ । यसलाई रेसपिरेटरी जोन भनिन्छ । मतलब यति ठूलो र फराकिलो ठाउँमा आक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदानरूपी टेनिस खेल त्यहाँ हुन्छ, ताकि शरीरलाई प्रशस्त आक्सिजन मिल्न सकोस् । कसरी विकास भयो त यस विस्तृत क्षेत्ररूपी फोक्सोको ? भनिन्छ कि आजभन्दा ४०० मिलियन वर्ष पहिले जब समुद्री माछालाई अप्ठ्यारो प¥यो, तब माछामा नै यसको प्रथमतः विकास भयो, जसका सन्तति हामी हौं र हाम्रोमा पनि छ ।
रेसपिरेशन तीन थरीका हुन्छन्ः एक्सटर्नल, इन्टरनल र सेल्युलर । फोक्सोसम्म बाहिरबाट हावा जानु र आउनुलाई बाहिरी वा एक्सटर्नल रेसपिरेशन भनिन्छ । अब फोक्सोमा आक्सिजनलाई रगतले लिन्छ र बदलामा आफ्नो कार्बन डाइअक्साइडलाई फोक्सोमा दिने गर्छ । यसैलाई इन्टरनल वा भित्री रेसपिरेशन भनिन्छ । तत्पश्चात् रगतले ढुवानी गरेर आक्सिजनलाई प्रत्येक सेलमा पु¥याउँछ र सेलभित्रको कार्बन डाइक्साइडलाई लिएर फर्किन्छ । त्यस आक्सिजनको उपस्थितिमा सेलभित्र सबै प्रकारका मेटाबोलिज्म हुन्छन् र यसै सेलभित्रको प्रक्रियालाई सेल्युलर रेसपिरेशन भनिन्छ । यो ल्याटिन रेस्पायरबाट आएको हो, जसको मतलब टु ब्रिद हो । यो सेल्युलर एस्पेक्टमा नै प्रयोग हुनुपर्नेमा सबै प्रकारका लागि प्रयोग गरिन्छ ।
फोक्सोमा हावा भित्र र बाहिर जाने कुरा घाँटीमा अवस्थित एक मुख्य नली भएर यात्रा गर्छ, जसलाई ट्रेकिया वा श्वसननली भनिन्छ । ल्याटिन ट्रेखोसको अर्थ विन्डपाइप हुन्छ । अतः श्वसन अङ्गमा नाक, मुख, फैरिंक्स, लैरिंक्स पनि हुन् भने पनि ट्रेकियाको चर्चा यहाँ वाञ्छनीय छ । ट्रेकियाबाट फोक्सोको अन्तिम युनिटसम्म यस विन्डपाइपको तुलना एउटा उल्टो रूखसँग गर्न सक्नुहुन्छ, जसको तना ट्रेकियाको रूपमा माथि र अन्य साना ठूला शाखाहरू तल हुन्छन् । ट्रेकिया चार इन्च लामो र एक इन्च ब्यास भएको कार्टिलेजको रिङ र भित्र म्युकस भएको नली हो, जुन घाँटीबाट शुरू भएर छातीको ५औं रिढको हाडको लेभेलमा दुईवटा ब्रान्च बनाउँछः दायाँ ब्रोकस जो दायाँ फोक्सोमा र बायाँ ब्रोकस जो बायाँ फोक्सोमा प्रवेश गर्छ । दायाँ बायाँभन्दा अलि लामो र बढी भर्टिकल हुन्छ, जस कारण कुनै बाहिरी कुरा सुटुक्क त्यसैमा प्रवेश गरेको हुन्छ, बायाँमा होइन । फोक्सोभित्र ब्रोकसका अनेक शाखा प्रशाखा निस्किन्छन्, जसलाई ब्रोन्कियोल भनिन्छ । ब्रोन्कियोलमा पनि प्राइमरी, सेकेन्ड्री र ट्रसियरी गरी अनेक हुन्छन् । अन्तिम ब्रोन्कियोल छवटा अल्भियोलर डक्टमा विभाजित हुन्छन्, जसलाई अल्भियोलर डक्ट भनिन्छ । एउटा अल्भियोलर डक्टमा चारवटा अल्भियोलर सैक हुन्छन्, जो अङ्गुरको लहरा जस्तो देखिन्छ । प्रत्येक अल्भियोलर सैकमा तीन वा चारवटा अल्भियोलस हुन्छन् । यसै अल्भियोलाईहरूमा रेसपिरेशनको अन्त हुन्छ अथवा हावाको अन्तिम पडाव यही हो, जहाँ रगतले आक्सिजन लिन्छ र कार्बन डाइक्साइड प्रदान गर्छ । यही अल्भियोलाईमा हावा भरिए बैलुन जस्तै फुल्छ र हावा निस्के खुम्चिन्छन् । दुवै फोक्सोमा यिनको सङ्ख्या ७५० मिलियन हुन्छ । ट्रेकियाबाट यहाँसम्म हावालाई ल्याइ पु¥याउने जुन ठूला मसिना मार्गहरू, शाखाहरू छन्, उनको लम्बाई एक साथ मिलाइयो भने १२०० माइलभन्दा पनि बढी हुन्छ । त्यत्रो ठूलो रूखको अन्तिम शाखामा अल्भियोलसरूपी फूल वा फल लागेको अद्भुत र अनौठो दृश्य जस्तो देखिन्छ ।
जब हावा लिइन्छ, तब त्यसमा २१ प्रतिशत आक्सिजन र ०.०४ प्रतिशत कार्बन डाइअक्साइड हुन्छ, जुन वायुमण्डलको नै अनुपात हो । जति हावा लिइन्छ, त्यति नै हावा बाहिर आउँछ । तर बाहिर आउने हावामा आक्सिजन घटेर १६ प्रतिशत हुन्छ र कार्बन डाइअक्साइड बढेर ४.४ प्रतिशत हुन्छ । बाँकी आक्सिजनलाई फोक्सोबाट रगतले लिई सकेको हुन्छ र जुन कार्बन डाइअक्साइड रगतले छोड्छ, त्यो फोक्सोमा उपस्थित कार्बन डाइअक्साइडको मात्रा बढाइदिन्छ । जति अशुद्ध रगत शरीरबाट मुटुको दायाँ एट्रियममा जान्छ, त्यो सबै त्यहाँबाट पल्मोनरी धमनी भएर दुवै फोक्सोमा जान्छ, जो प्रतिमिनट पाँच लिटर हुन्छ । यही रगत शुद्ध भएपछि पल्मोनरी सिरा भएर मुटुको दायाँ एट्रियममा जान्छ । रगतले सेलहरूमा केवल ४० प्रतिशत आक्सिजनलाई नै पु¥याउँछ र बाँकी ६० प्रतिशत तापको रूपमा नोक्सान हुन्छ । तर पनि त्यस ४० प्रतिशत आक्सिजन नै यति प्रशस्त हुन्छ कि राम्रोभन्दा राम्रो अटोमोबाइल इन्जिनले पनि त्यति ऊर्जा पैदा गर्न हम्मेहम्मे पर्छ । नाकको रौंले हावाका धूलकणलाई भित्र जान दिंदैन । त्यसलाई छलेर भित्र पस्ने धूलो र ब्याक्टेरिया वा भाइरसलाई नाक र विन्डपाइपको म्युकसले ट्रैप गर्छ र बलगमको रूपमा निकाल्छ । त्यसलाई पनि छलेर अगाडि बढ्नेलाई ब्रान्कस र ब्रन्कियालहरूका म्युकसले ट्रैप गरी खकारको रूपमा निकाल्छ । त्यसलाई छलेर बढ्नेलाई फोक्सोमा मौजुद मैक्रोफेजले निल्छ । त्यसलाई पनि छल्ने भाइरस ब्याक्टेरियालाई रगतको मैक्रोफेजले निल्छ । यस्तो चार किल्ला पार गरेर पनि रोग हुन्छ भने अचम्मै त छ नि ।
यही हो श्वसन वा ब्रिदिङ्को छोटकरी बयान । जति–जति हवाईजहाज माथि जान्छ त्यति–त्यति आक्सिजन र कार्बन डाइअक्साइड दुवैको मात्रा कम हुँदै जान्छ । कार्बन डाइअक्साइड कम भएपनि मतलब भएन तर आक्सिजन कम भयो भने धेरै फरक पर्छ । शरीरले बिस्तारै यसको सन्तुलनको अभ्यास गर्दै अभ्यस्त हुन्छ । धेरै नै उचाइमा आक्सिजन मास्क प्रयोग गरेर कमी पूरा गरिन्छ । यसको विपरीत प्रक्रिया डाइभिङ गर्नेले समुद्रको गहिराइमा गर्ने गर्छन् । यी दुवै छुट्टै विषय हुन् । केही रेसपिरेशनसम्बन्धी टर्मिनोलोजीको संक्षिप्त वर्णन गरी यस फोक्सोको व्याख्या अब समाप्त गर्न चाहन्छु ।
रेसपिरेटरी रेट: एक मिनटमा हुने इन्स्पिरेशन र एक्स्पिरेशनको नम्बरलाई रेसपिरेटरी रेट भनिन्छ । नवजातमा यो ३० प्रतिमिनट, बच्चामा २५ र वयस्कमा १२ प्रतिमिनट हुन्छ ।
पल्मोनरी भोल्युम: विभिन्न अवस्थामा हावालाई लिने, होल्ड गर्ने र छाड्ने मात्रालाई पल्मोनरी भोल्युम भनिन्छ । यो तीन थरीका हुन्छन्ः हर सासमा लिने र छोड्ने मात्रालाई टाइडल भोल्युम भनिन्छ । यो लिने र दिने दुवै मात्रा ५०० एमएल हुन्छ । अर्थात् जति लिइन्छ, त्यति नै छोडिन्छ पनि । कसरत र उत्तेजनाको बेला यो आठदेखि १० गुणाले बढ्छ ।
अल्भियोलर भोल्युम: लिएको ५०० सिसीबाट ३५० सिसी नै अल्भियोलाईमा पुग्छ, जसलाई अल्भियोलर भोल्युम भनिन्छ ।
डेडस्पेस भोल्युम: बाँकी १५० सिसी हावा रेसपिरेटरी पैसेजमा नै रहिरहन्छ, जसलाई डेडस्पेस भोल्युम भनिन्छ ।
इन्स्पिरेटरी रिजर्भ भोल्युम: यो बलपूर्वक भित्र लिने हावाको मात्रा हो, जसको अधिकतम मात्रा २००० देखि २५०० सिसी हुन्छ ।
एक्स्पिरेटरी रिजर्भ भोल्युम: यो बलपूर्वक छोडिने हावाको मात्रा हो, जुन अधिकतम १००० देखि १५०० सिसी हुन्छ । यी दुवै प्राणायामको बेलामा देखिन्छन् ।
भाइटल कैपेसिटी: मानिसले जति हावाको मात्रा एकपटकको श्वसनमा लिने वा छोड्ने शक्ति राख्छ, त्यसलाई भाइटल कैपेसिटी भनिन्छ, जुन ३५०० देखि ४५०० सिसी हुन्छ । यो उपर्युक्त सबैको जोड हुन्छ । एथलेट र वर्कर्सको भाइटल कैपेसिटी बढी र स्मोकरको कम हुन्छ ।
रेसिड्युअल भोल्युम: हावाको १५०० सिसी मात्रा सधैं अल्भियोलाईमा बसिरहेको हुन्छ, जसलाई कसैगरी पनि फ्याँक्न सकिंदैन र जुन केवल सासलाई थामेको वा दम साँधेको बेला उपयोग हुन्छ । त्यसैलाई रेसिड्युअल भोल्युम भनिन्छ ।
टोटल लङ कैपेसिटी: यो भाइटल कैपेसिटी र रिजर्भ भोल्युमको जोड हो, जुन ४५०० जोड १५०० गरी ६००० सिसी वा छ लिटर हुन्छ ।
अल्भियोलर भेन्टिलेशन: यो एक मिनेटमा अल्भियोलाईमा जाने हावाको मात्रा हो । यसमा रेसपिरेटरी पैसेजमा अड्केको हावाको मात्रालाई घटाएर आउने हावाको मात्रा हो यथाः १५ गुणा (५०० माइनस ३५०) बराबर १५ गुणा ३५० बराबर ५२५० सिसी ।
डेडस्पेस भोल्युम: जो पैसेजमा रहन्छ । यसको मात्रा १५० सिसी हो ।
लियोनार्डो दा भिन्चीले नर्भस सिस्टमबारे खोजको साथै फोक्सोमा पनि उल्लेखनीय काम गरेका थिए । मार्सिलो मालपिघीले सत्रौं शताब्दीमा मिर्गौला आदिको खोजको साथै फोक्सोमा पनि धेरै काम गरेका थिए । १९औं शताब्दीको अन्तमा सन् १८९५ मा जब राञ्जन नामक फिजिसिस्टले एक्स–रेको आविष्कार गरे, तब संसारमा तहलका मच्चियो र केवल एक महीनामा नै विश्वभरिमा एक्स–रे प्लान्टहरू धमाधम स्थापित हुन थाले । यो फोक्सोको रोग पहिचान गर्ने यति सटीक माध्यम बन्यो कि आजसम्म पनि त्यसलाई विस्थापित गर्न सकिएको छैन । रोचक तथ्य के हो भने फोक्सो केवल एक्स–रेमा नै देखिन्छ, अल्ट्रासाउन्डमा देखिंदैन । तर एक्स–रेमा कलेजो आदि पेटका अङ्गहरू देखिंदैनन् र अल्ट्रासाउन्डमा देखिन्छन् । यसरी एक्स–रे र अल्ट्रासाउन्ड एकअर्काका पूरक मात्र हुन्, विकल्प होइनन् । रेने लेनेकले जब स्टेथोस्कोपको आविष्कार गरे, तब मुटु र फोक्सोमा हुने रोगको सटीक साउन्ड सुन्न मदत ग¥यो । यसरी अनेक माइल स्टोन पार गर्दै फोक्सो र मुटु रोगबारे यहाँसम्म आइपुगिएको छ ।