चिरञ्जीवी सापकोटा, ठोरी, १७ कात्तिक/
कुनै बेला पर्सा जिल्लाको दुर्गम भनिने ठोरी गाउँपालिकामा अहिले सडक सञ्जाल विस्तार भएसँगै फूटबल प्रतियोगिताको भूत सवार भएको छ । पाँचवटा वडा रहेको सो पालिकामा करीब दुई दर्जन फूटबल क्लब छन् । १९ वटा ठूला र ५/७ वटा साना क्लब ठोरी गापाका विभिन्न वडामा सक्रिय छन् ।
ठोरी गापाका पाँचवटै वडामा खेलमैदान छन् । वडा नं १ को भगवाननगर, क्यामुनाघारी, चौतारा र सरस्वतीनगरमा गरी चारवटा खेलमैदान छन् । यी खेल मैदानमा जनचेतना युवा क्लब, निर्मल समाज युवा क्लब र थ्रीस्टार क्लबले निरन्तर फूटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
यसैगरी, ठोरी गापा–२ को हनुमाननगर, फायरलाइन, ब्यारेक मैदान, सुन्दरबस्ती र वनशक्तिमा गरी पाँचवटा फूटबल मैदान छन् । यहाँ हरियाली युवा क्लब, नवयुवा क्लब, अमृत युवा क्लबले फूटबल प्रतियोगिता आयोजना गर्ने गरेका छन् ।
ठोरी गापा–३ को रामनगर, ब्रह्मनगर, बुद्धनगर गरी तीन ठाउँमा खेलमैदान छन् । यहाँ सनराइज युवा क्लब, ब्रह्मज्योति युवा क्लब, बुद्धनगर युवा क्लबले फूटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
वडा नं ४ को निर्मलबस्ती, विजयबस्ती र वडा नं ५ को बाघमोर्चामा खेलमैदान छन् । जहाँ विजयबस्ती युवा क्लब, सुवर्ण युवा क्लब, चौतारी युवा क्लबले फूटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
वडा नं १ मा चार, वडा नं २ मा पाँच, वडा नं ३ मा चार, वडा नं ४ मा तीन र वडा नं ५ मा तीनवटा फूटबल क्लब छन् ।
भर्खरै दशैंमा यहाँ दुईवटा फूटबल प्रतियोगिता सम्पन्न भए र अहिले दीपावली र छठ पर्वको अवसरमा ब्रह्मज्योति युवा क्लबले आयोजना गरेको नकआउट फूटबल प्रतियोगिता जारी छ । कृष्ण जन्माष्टमी, हरितालिका तीज, दशैं, दीपावली, छठ र ल्होसार पर्वमा विशेषगरी फूटबल प्रतियोगिता आयोजना हुँदै आएका छन् । यस अलावा पनि यहाँ विभिन्न अवसरमा फूटबल प्रतियोगिता आयोजना हुँदै आएका छन् । एउटा फूटबल प्रतियोगितामा कम्तीमा पनि रु छ लाख खर्च हुने गरेको छ । स्थानीय पालिका, वडाध्यक्ष, सदस्य, सांसद, प्रदेशसभा सदस्य, विभिन्न सङ्घसंस्था, खेलप्रेमी तथा विदेशमा रहेका ठोरीवासीहरूले प्रतियोगितामा सहयोग गर्दै आएका बताइएको छ । ठोरीमा मात्र वार्षिक एक करोडभन्दा बढी रकम विभिन्न खेलकूद प्रतियोगितामा खर्च हुँदै आएको छ ।