प्रस, वीरगंज, १७ कात्तिक/
वीरगंजका सुनचाँदी व्यवसायीहरूले तस्करीको सुन प्रयोग गरिरहेको पोल खुलेको छ । सरकारले सुन आयात दैनिक १५ किलोमा सीमित गरेको छ । यसअघि दैनिक २५ किलो सुन आयात हुन्थ्यो ।
नेपालभरि दैनिक २५ किलो सुन खपत हुने अनुमान नेपाल सुनचाँदी व्यवसायीले गरेको छ । बितेका दशैं, तिहार, छठमा सुनको माग दैनिक ५० किलो पुगेको सङ्घको दाबी छ । तर सरकारले दैनिक १५ किलो मात्र सुन उपलब्ध गराउँदा समस्या भएको सङ्घले जनाउँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ, पर्साले एकजना पसलेलाई मासिक २० ग्राम सुन मात्र उपलब्ध गराउँदै आएको छ । पर्सा जिल्लामा ३५४ भन्दा बढी सुनचाँदी व्यवसायीहरू छन् । उनीहरूले चाडपर्वमा र अहिले पनि तस्करीको सुन खरीद गरिरहेको स्रोतले जनाएको छ । ठूला सुनचाँदी व्यवसायीहरूले सङ्घबाट प्राप्त सुनबाट ग्राहक थेग्न नसकेपछि महँगोमा सुन खरीद गरी कम मुनाफामा बिक्री गरिरहेको बताइएको छ ।
अहिले सङ्घमार्फत सुन लिंदा तोलाको रु ९३ हजार पर्छ तर तस्करीको सुन रु एक लाखमा बिक्री भइरहेको स्रोतले जनाएको छ । सरकारले बैंकमार्फत सङ्घलाई उपलब्ध गराउने सुन अपुग भएको कारण सुन व्यवसायीहरू तस्करीको सुनमा भर परेका हुन् । ठूलो सङ्ख्यामा सुनचाँदी पसल हुनु र माग अनुसारको सुन नदिंदा अहिले अधिकांश पसले तस्करीको सुनमा निर्भर छन् ।
पसल सञ्चालन गर्नुपर्ने बाध्यताले कम मुनाफा भएपनि तस्करीको सुन खरीद गर्नुपरेको एकजना व्यवसायीले बताए । उनले सङ्घबाट मासिक २० ग्राम मात्र सुन प्राप्त हुने र सोही अनुसारको बिलबीजक तयार गर्नुपर्दा करचुक्तामा पनि समस्या भइरहेको बताए ।
साना पसलहरूलाई समस्या नभए पनि ठूला पसलहरूले मासिक २० ग्राम सुनको भरमा ठूलो खर्चमा पसल सञ्चालन गर्दा पनि स्थानीय प्रशासनले यस सम्बन्धमा कुनै कारबाई गर्न सकेको छैन । वीरगंजमा दैनिक एक किलोसम्म सुन खपत गर्ने पसलहरू पनि छन् । ती पसलहरूले मासिक २० ग्राम सुनबाट कसरी पसल सञ्चालन गरिरहेका छन् भन्नेबारेमा कुनै पनि सरोकारवाला निकायले खोजीनिती गरेका छैनन् ।