प्रस, वीरगंज, १६ कात्तिक/
भारत सरकारले नेपाल निर्यातमा धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F सुबोध गुप्ताले विज्ञप्ति प्रकाशित गरी भारत सरकारको अर्थ मन्त्रालय राजस्व विभागले कात्तिक १४ गते जारी गरेको सूचना अनुसार नेपालको लागि धान निर्यातमा भन्सार शुल्क पुनः शून्य प्रतिशत कायम गरेको बताएका छन् ।
यसअघि भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै नेपालको लागि निर्यात हुने धानमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो । भारत सरकारको यो कदमबाट नेपालका चामल, दाल, तेल सङ्घले भारतका सम्बन्धित निकायहरूमा यसबारे ध्यानाकर्षण गराउँदै आएको थियो ।
सङ्घका अध्यक्ष्F गुप्ताले भारत सरकारले धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्कबाट नेपालमा रहेका चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र उपभोक्ताहरू महँगोमा चालम उपभोग गर्न बाध्य भएको बताएका थिए । उनले भन्सार शुल्क हटाएपछि चामल उद्योगीहरूमा खुशी छाएको बताए । गत वर्ष भारतबाट साढे पाँच लाख मेट्रिक टन धान नेपाल आयात भएको थियो भने यस वर्ष छ लाख मेट्रिक टन आयात गर्न पाउने अनुमति पाएको छ ।
यसबाट चामल उद्योगको विस्तार, विकासमा प्रवद्र्धन हुने तथा नयाँ चामल उद्योगहरू स्थापित हुने तथा आम उपभोक्ताहरूलाई सस्तोमा चामल उपलब्ध हुने अध्यक्ष गुप्ताले बताए ।