अल्जियर्स, १६ कात्तिक/सिन्ह्वा

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलवार साँझदेखि शुरू भएको छ । यो अरब लिगको ३१औं शिखर सम्मेलन भएको बताइएको छ ।

यस सम्मेलनका मुख्य एजेन्डामा खाद्य सुरक्षा र इजरायल तथा प्यालेस्टाइन रहेका बताइएको छ । यसअघि लिगको ३०औं सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । मङ्गलवार साँझ अल्जियर्समा सो सम्मेलन शुरू भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए ।

मङ्गलवार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका थिए । उनले यस ३१औं सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरूका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताएका थिए ।

सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन शुरू भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरूको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताए ।

उनले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि शुरू भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राखेका थिए ।

उनले हाल विश्वमैं बढ्दोरूपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिंदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।   

सो सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरूले सो सम्मेलनमा सहभागिता जनाउने समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here