- सञ्जय साह मित्र
अहिलेको चुनावमा अनेकथरी उम्मेदवार देखिएका छन् । हुनत पहिले पनि यस्ता उम्मेदवार नदेखिएका होइनन्, तर कानूनीरूपमा उम्मेदवार बनेर अरूलाई सहयोग गर्न उम्मेदवार बनेको उदाहरण विगतमा पनि देखिएका छन् । गत स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको सूची लामै थियो तर आफ्नो विवरण बुझाउने बेला भयो तब धेरैले बुझाएनन् । आगामी छ वर्षसम्म उम्मेदवार बन्न नपाउने सूचना जारी भए पनि त्यसको बेवास्ता किन गरियो भने अहिलेको चुनावमा जसले उम्मेदवार बनाएको थियो, उनले चाहे मात्र फेरि उम्मेदवार हुने भनेपछि जरिवाना किन तिर्नु ? अर्को चुनावमा अर्को मानिसलाई उम्मेदवार बनाउन मिलिहाल्छ । यस्ता सहयोगी उम्मेदवारहरू अहिलेको चुनावमा पनि देखिएका छन् ।
सहयोगी उम्मेदवार किन भनिएको हो भने अहिले चुनाव प्रचारमा एक साथ हिंडिरहेका छन् र आफ्नो चुनाव–चिह्न भएको झन्डा गाडीमा राखे पनि चुनाव प्रचारको क्रममा जसले उम्मेदवार बनाएको हो, उसैलाई भोट दिन भनिरहेका छन् ।
चुनावमा गाडी तथा कार्यकर्ता परिचालन गर्न सजिलो हुने, कानूनले नरोक्ने हुँदा धेरैजना उम्मेदवार बन्ने वा बनाउने गरिएका छन् । त्यस्ता उम्मेदवार मतगणनामा पनि काम लाग्छ । अरूलाई सहयोग गर्न उम्मेदवार बन्नेहरूको चाहना आफू जित्नु होइन, अरूलाई हराउनु र आफ्नो मानिसलाई जिताउनु हो । आफ्नो लागि भोट माग्दैनन्, जसले उम्मेदवार बनाएको छ, तिनको आलोचना सुन्न सक्दैनन् । अन्य उम्मेदवारले राम्रो–नराम्रो जे भने पनि प्रतिकार गर्छन् । यसरी डमी उम्मेदवारको चाहना आफ्नो जो मूल उम्मेदवार हो, उसलाई जिताउनु वा चुनाव प्रचारको क्रममा आफ्नो मूल उम्मेदवारको चुनावमा देखिएका बाधा अडचन हटाउनु हो । सूचना सङ्कलन गरी यथारूप मुख्य उम्मेदवारलाई दिनु हो । सम्बन्धित उम्मेदवारको कमजोर पक्षको मूल्याङ्कन गर्नु र त्यसलाई सबल बनाउन भूमिका निर्वाह गर्नु हो । यस्ता निमित्त उम्मेदवार अहिले कम छैनन् । यस्ता उम्मेदवारको अर्को चाहना यो पनि हुन्छ कि प्रतिद्वन्द्वीको केही मत भए पनि काटेर आफ्नो उम्मेदवारलाई सहयोग गर्नु ।
अरूलाई हराउन पनि कोही उम्मेदवार बनेका हुन्छन् । कसैलाई जसरी पनि हराउनु छ । आफू कहिल्यै जित्न सक्दिनँ भन्ने कुरो थाहा हुँदाहुँदै पनि, र सम्भव भए भोट काटेर हराउन सकिन्छ कि भनेर पनि कोही उम्मेदवार बनेका हुन्छन् । यस्ता उम्मेदवारहरूको चाहना कसैलाई हराउनु मात्र हुन्छ । कम्तीमा कुनै किसिमले बैर साध्नु वा राजनीतिक रूपमा म स्वीकार नगर्ने भूमिका हो ।
कतिपय चाहिं आफूलाई चिनाउन उम्मेदवार बनेका हुन्छन् । धन छ, गाउँ समाजमा सम्मान पनि छ तर गाउँबाहेक अन्यत्र कसैले चिन्दैन । उम्मेदवार भएपछि आफ्नो नामको पोस्टर वा पम्पलेट जारी हुन्छ, ठाउँठाउँमा तुल र ब्यानर लगाइन्छ, उस्तै परे हरेक गाउँ र टोलमा कोणसभा हुन्छ, आफ्नो कुरा राख्न पाइन्छ । यसै गरी घरदैलो पुग्नु, आफ्ना कुरा मतदातासमक्ष राख्नु तथा मतदाताका कुरा सुन्नु पनि महŒवपूर्ण मान्छन् । यस्तो गतिविधिबाट कतिपय मानिसको निकटता पाइन्छ, धेरै मानिससँग चिनजान हुन्छ । चुनाव नजिते पनि यसरी मानिस कमाउनु र आफूलाई चर्चित बनाउनु कतिपय उम्मेदवारहरूको चाहना रहेको देखिन्छ ।
अझ कतिपय यस्ता व्यक्ति पनि उम्मेदवार बनेका छन् जो सधैं राजनीति गरिरहेका छन् । कुनै निश्चित पार्टीमा रहेर, पार्टीलाई हरेक मोर्चामा सहयोग गरिरहेका मानिसले गठबन्धन वा अन्य कारणले टिकट पाएका छैनन् । पहिलेदेखि पार्टी उम्मेदवार मानिएका तथा पार्टीको उम्मेदवार बनेको घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा गठबन्धन वा अन्य कुनै तत्कालीन कारणले अर्कै मानिस उम्मेदवार बन्न पुग्दा बिच्केका छन् । यसरी बिच्केकाहरू पनि पर्याप्त सङ्ख्यामा उम्मेदवार बनेका छन् । यसै कारणले पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी हुन पुगेको हो । उम्मेदवार नहुँदै धेरै ठाउँमा उम्मेदवार हुँदैछु, सहयोग गर्नुपर्छ भनिसकेका हुन्छन् । उम्मेदवार नबन्दा षड्यन्त्र भएको बुझाइ पनि हुन्छ । यसरी रिस वा अस्तित्व प्रदर्शनका लागि पनि कतिपय मानिस उम्मेदवार बनेका छन् । यस्ता उम्मेदवारको चाहना आफ्नो राजनैतिक अस्तित्व जोगाउनु हो । चुनावमा जित्न नै भन्ने होइन ।
यद्यपि सबै स्वतन्त्र उम्मेदवार पार्टीका विद्रोही वा बागी मात्र होइनन् । अहिले गठबन्धन वा अन्य ठूला हैसियत भएका उच्च राजनैतिक व्यक्तित्वलाई पनि यस्ता कतिपय स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका छन् । जनप्रिय मानिसलाई उम्मेदवार नबनाएर कुनै अन्य कारणले गठबन्धनबाट पार्टीइतर व्यक्तिलाई उम्मेदवार बनाउँदा त्यस्ता स्वतन्त्र उम्मेदवार बलिया पनि देखिएका छन् । अन्यत्र के भइरहेको छ, भन्न नसके पनि रौतहटको एउटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूबीच नै टक्कर हुने देखिएको छ । कुनै दलको कुनै उम्मेदवारले चमत्कार देखाउन सके मात्र प्रतिस्पर्धामा आउने अवस्था देखिएको छ ।
सिद्धान्तले के भन्दछ भने लोकतन्त्रमा व्यक्तिलाई अगाडि सारेर दलले चुनाव लड्ने हो । दलका नीति तथा कार्यक्रम र घोषणापत्र जनताले अनुमोदन गर्ने हो र तिनले प्रतिनिधि पठाउने हो । तर अहिलेको अवस्थामा चुनाव खर्चिलो भएको छ । जातको कुरोले पनि चुनावमा प्रभाव पारिरहेको सबैतिर सुनिन्छ । साथै दलहरूले पनि विगतमा गरेका घोषणा अनुसार काम नगरेको आरोप छ । चुनावमा उम्मेदवार हुने व्यक्ति र तिनको राजनीतिक दलले पनि प्रभाव पार्ने गरेको यथार्थ बिर्सन सकिन्न । यसरी विभिन्न किसिमका विशिष्ट परिवेशका कारण एउटै दल, एकै निर्वाचन क्षेत्रको कुनै गाउँमा बलियो र कुनै गाउँमा कमजोर हुन पुगेको छ ।
आखिरमा जनता नै सबैथोक हो चुनावमा । चुनाव जिताउने काम जनताले नै गर्दछ । निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि चुन्ने हो । अठार वर्ष मुनिका मानिसले मतदान गर्न नपाए पनि मतदातालाई सहयोग गरेर आफ्नो प्रतिनिधि चयन गरेको मानिन्छ । अथवा सबै मतको बहुमत जता अभिव्यक्त भएको हुन्छ, त्यसलाई नै स्वीकार गर्नुपर्ने हुन्छ । लोकतन्त्रमा चुनाव सफल बनाउन युवा तथा किशोर र विद्यार्थीले मत नदिए पनि अन्य किसिमले सहयोग गरिरहेका हुन्छन् । सबैको सकारात्मक सहयोगले नै अत्यधिक मात्रामा मतदाताले चुनावमा सहभागिता जनाउन सक्छन् तथा आफ्नो मताधिकारको सही उपयोग गर्न सक्छन् । मतदाताले जसलाई आफ्नो मत सङ्केत गर्दछ, उही निर्वाचित हुन्छ । निर्वाचन स्वच्छ र स्वतन्त्र हुनुपर्छ, शान्त वातावरणमा मतदाताले निर्भय भएर आफ्नो अभिमत जाहेर गर्न पाउनुपर्छ भन्ने चाहना सबैको हो र वर्तमान मतदाताले पनि यही चाहेका छन् कि आफ्नो मतको सदुपयोग होस् ।
अहिलेसम्म मतदाता कतै ढल्केको देखिएका छैनन् । मतदाताको मूड बुझ्न अहिल्यै हतार हुन्छ । यद्यपि चुनावलाई क्रिकेटको खेलसित पनि तुलना गरिन्छ । अन्तिम ओभरमा पनि क्रिकेटमा कुनै चमत्कार हुन सक्छ । त्यसरी नै चुनावमा अन्तिम समयमा पनि मतदाताको मूड बदलिन सक्छ । तर अहिले नै फलानो करीब जितिसक्यो वा जितको नजीक छ भन्न मुश्किल छ । चुनावमा मतदाता सर्वोपरि हुने र मतदाता परिचालन गर्ने तŒवको आधारमा नै मिडिया वा मिडियाकर्मीले विश्लेषण गर्ने हो कि फलानो–फलानो उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । यसरी मुख्य प्रतिस्पर्धामा जानु भनेको चर्चामा आउनु हो । जब कोही उम्मेदवार एक गाउँ, चोक वा ठाउँबाट अर्को गाउँ, चोक वा ठाउँको चियापसल, विद्यालय, बजार, पान पसल, खाजा पसल तथा बैठकीहरूमा चर्चा पाउन थाल्छ तब ऊ प्रतिस्पर्धामा रहेको बुझिन्छ । यसै आधारमा अहिले कतै तीन र कतै चार उम्मेदवार चर्चामा छन् । मतदाता पनि बिस्तारै अनेक उम्मेदवारमध्ये यस्तै तीन वा चार उम्मेदवारको चर्चा सुनिरहेका छन् । अधिकांश उम्मेदवारको चाहना जित्ने हुन्छ तर मतदाताको मूड त धेरै कुरामा निर्भर रहन्छ ।