प्रस, परवानीपुर, १२ कात्तिक/
बाराको जीतपुरसिमरा उपमहानगरको छातापिपरा खेल मैदानमा शनिवार सम्पन्न भलिबल खेल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ पोता टोलले जितेको छ ।
आजको फाइनलमा जीतपुरसिमरा उमनपाको जगआवा टोललाई पराजित गर्दै पोता टोलले उपाधि जितेको हो । उपाधि जितेसँगै पोता टोलले नगद १ लाख, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
उपविजेता जगआवा टोलले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
विजेता, उपविजेतालाई प्रतिनिधिसभाका उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा उम्मेदवार अनिल श्रेष्ठले पुरस्कृत गरेका थिए ।
शुक्रवार शुरू भएको भलिबल प्रतियोगितामा रौतहटको एक, पर्साको तीन र बाराको १२ वटा टोलका खेलाडीहरूको सहभागिता थियो ।