चिरञ्जीवी सापकोटा, ठोरी, १२ कात्तिक/
दीपावली र छठको अवसरमा ब्रह्मज्योति युवा क्लबले आयोजना गरेको ब्रह्मज्योति गोल्डकप फूटबल नकआउट प्रतियोगिता अन्तर्गत शनिवार दोस्रो दिनको खेलमा निर्मल समाज र सुवर्णयुवा क्लब विजयी भएका छन् ।
आज सम्पन्न पहिलो खेलमा न्यू पञ्चम युवा क्लब पटेर्वासुगौलीलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै निर्मल समाज क्लब विजयी भएको हो ।
निर्मल समाजका रितेश क्षत्रीले गरेको गोल आजको खेलको निर्णायक भयो । उनी नै म्यान अफ द म्याच घोषित भए ।
आजको दोस्रो खेलमा थ्री स्टार युवा क्लब ठोरीलाई सुवर्णयुवा क्लबले टाइ ब्रेकरमा पराजित गरे । खेल अवधिमा गोल हुन नसकेपछि टाइ ब्रेकरबाट निर्णय गरिएको थियो ।
टाइ ब्रेकरमा सुवर्ण युवा क्लबले दुई र थ्री स्टारले एक गोलमात्र गरे । यो खेलको म्यान अफ द म्याच गोलरक्षक कविराज घोषित भएका आयोजक क्लबका अध्यक्ष् पन्नालाल विष्टले बताए ।
आइतवार छठ पर्व भएको हुनाले खेल नहुने र कात्तिक १४ गते सोमवार दुईवटा खेल हुने अध्यक्ष् विष्टले बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १८ गते शुक्रवार हुनेछ । प्रतियोगितामा २० वटा क्लब सहभागी छन् ।