चिरञ्जीवी सापकोटा, ठोरी, ६ कात्तिक/

नेपालीहरूको दोस्रो ठूलो चाड दीपावली र छठ पर्वको अवसरमा ब्रह्मज्योति युवा क्लबको आयोजनामा जारी  ब्रह्मज्योति गोल्डकप नकआउट फूटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा जनचेतना युवा क्लब र थ्रीस्टार युवा क्लब  विजयी भएका छन् । आजको पहिलो खेलमा जनचेतना युवा क्लब, ठोरी–१ भगवाननगरले निचुटा युथ क्लब, निचुटालाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जनचेतनाको जीतमा जर्सी नं ८ का सुदीप घले र जर्सी नं २२ का करण महतोले समान एक/एक गोल गरे भने निचुटा युथ क्लबका खेलाडीले आत्मघाती एक गोल गरेका थिए । निचुटा युथ क्लबको जर्सी नं १३ का सन्तोष चौधरीले एक गोल गरी आफ्नो टीमलाई सान्त्वना दिलाएका थिए । आजको पहिलो खेलको ‘म्यान अफ दी म्याच’ जनचेतनाका जर्सी नं ८ का सुदीप घले घोषित भएको आयोजक क्लबका अध्यक्ष पन्नालाल विष्टले जानकारी दिए ।

आजै भएको दोस्रो खेलमा थ्रीस्टार युवा क्लब, ठोरीले युवा समाज पकडीटोल, जीराभवानीलाई ३–० गोलअन्तरले पराजित गर्दै अगाडिको यात्रा तय गरेको छ । थ्रीस्टारको जीतमा जर्सी नं ९ का रोजल ढकाल, जर्सी नं ११ का प्रवेश तिमल्सिना र जर्सी नं १७ का योगेश तिमल्सिनाले समान एक/एक गोल गरी आफ्नो टीमलाई विजयी बनाए । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका जर्सी नं ९ का रोजल ढकाल घोषित भएको पनि विष्टले जानकारी दिए ।

भोलि एकमात्र खेल हुनेछ । भोलिको खेल अमृत युवा क्लब, ठोरी–२ सुन्दरबस्ती र सुवर्ण युवा क्लब, सुवर्णपुरबीच हुने  अध्यक्ष विष्टले जानकारी दिए । भोलिको खेल दिनको एक बजे खेलाइनेछ ।

२० वटा टीमको सहभागिता रहेको यस खेलको फाइनल खेल कात्तिक १८ गते हुनेछ । खेलमा विजेतालाई नगद रु एक लाख पाँच हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु ५३ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गदिनेछ । खेलको उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार १०० प्रदान गरिनेछ भने खेलभरि सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई चाँदीको जुत्ता प्रदान गरिने अध्यक्ष विष्टले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here