प्रस, वीरगंज, ५ कात्तिक/

नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर विश्वकर्माले शनिवार पिस फर दलित्स फाउन्डेशन नेपालले गरेको कामको अनुगमन गर्नुका साथै दलित बालबालिका र दलित समुदायका अगुवाहरूसँग अन्तक्र्रिया गरेका छन् ।

संस्थाले पर्सा जिल्लाका चार स्थानमा दलित बालबालिकाको शिक्षामा पहुँचको लागि निश्शुल्क ट्युशन कक्षा केन्द्र सञ्चालन गरेकामा सखुवाप्रसौनी गाउँपालिका–३, कौवावन कटैयाका बालबालिका, अभिभावक र दलित अगुवाहरूसँग  छलफल तथा अन्तक्र्रिया गरेका थिए । दलित बालबालिकाको शिक्षामा पहुँच, शैक्षिक समस्या, बालबालिकाको स्थिति, बालबालिकामाथि भएका हिंसा, बालश्रम शोषण, बाल मजदूर तथा दलित समुदायका बालबालिकाको अवस्थाबारे छलफल तथा अन्तक्र्रिया गरेका थिए ।

कार्यक्रममा सखुवाप्रसौनी गापाको दलित समुदायका अगुवा, निर्वाचित दलितहरू, दलित समुदायको नागरिकता, दलित समुदायका बालबालिकाको जन्मदर्ताबारे जनप्रतिनिधि र अभिभावकबीच अन्तक्र्रिया, सुझाव तथा छलफल भएको थियो । पूर्वसचिव डा विश्वकर्माले दलित समुदायको राजनीतिमा पहुँच, स्थानीय निर्वाचनमा सहभागिता, प्रतिनिधिसभा र प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दलित समुदायको स्थिति, छुवाछूत, स्थानीय सरकारमा दलितको पहुँच, दलितमैत्री बजेट, दलितका समस्याको समाधान तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।

पूर्वसचिव डा विश्वकर्मालाई सो अवसरमा पिस फर दलित्स फाउन्डेशन नेपालले सम्मान पनि गरेको थियो । उनले समाजको सशक्तीकरण, सेवा, सहयोग र जनवकालत गरेकाले सम्मानित गरिएको संस्थाका अध्यक्ष मनोज रामले बताए । डा विश्वकर्मा एक वर्षअघि मात्र सेवानिवृत्त भएका हुन् । नेपालको इतिहासमा नै दलित समुदायबाट नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीमा पुग्ने डा विश्वकर्मा पहिलो व्यक्ति हुन् ।

दलित, विपन्न परिवारमा हुर्किएका डा विश्वकर्मा विक्रम संवत् २०४३ सालमा सहलेखापाल (खरीदार) पदबाट निजामती सेवामा प्रवेश गरी खुला प्रतिस्पर्धाबाट २०४७ सालमा शाखा अधिकृत हुँदै महानिर्देशक, केही जिल्लाका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेश सचिव र वाग्मती प्रदेशको प्रमुख सचिव भएर २०७८ वैशाखमा ३५ वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएका हुन् ।

पाल्पाको तत्कालीन देउराली गाविस (हाल रिब्दिकोट गाउँपालिका)मा जन्मिएका उनी सेवानिवृत्तपछि पनि अध्ययन/अध्यापन र अनुसन्धानमा नै सक्रियरूपमा लागेका छन् । दलित समुदायको लागि सेवा, सहयोग, सशक्तीकरण, समानताको लागि तथा शिक्षाको लागि गाउँ–गाउँ, दलितका टोल, बस्तीमा पुगेर परिवर्तन तथा रूपान्तरणमा सक्रिय छन् डा विश्वकर्मा ।

कार्यक्रम कटैयाका दलित अगुवा टुअर महरा चमारको अध्यक्षतामा भएको थियो भने दलित महिला सदस्य सुरस्वतीदेवी राम, संस्थाका उपाध्यक्ष चन्द्रकिशोर राम, परमानन्द राम, सुरेन्द्र पासवान, अशोक राम, दीपेन्द्र रामलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मधेस प्रदेशका अध्यक्ष मनोज रामले सहजीकरण गरेका थिए ।

पिस फर दलित्स फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साले मधेस प्रदेशका आठ  जिल्लामा दलित समुदायको शिक्षा, समानता, सशक्तीकरण, सामाजिक स्वतन्त्रता तथा जातीय भेदभाव तथा छुवाछूतविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here