• उमाशङ्कर द्विवेदी

अलिक बेरमैं कर्णले धृष्टद्युम्नको घोडालाई मारेर उनको सारथिलाई घाइते पारी तीखो बाणले उनको धनुषलाई काटी एउटा भल्ल प्रहार गरेर उनको सारथिलाई मारिदिए । अनि धृष्टद्युम्नले एउटा भयङ्कर परिघ प्रहार गरेर कर्णको घोडालाई मारिदिए । फेरि पैदल नै युधिष्ठिरको सेनामा पुगी सहदेवको रथमाथि गई बसे । यता कर्णको सारथिले उनको रथमा अर्को घोडा जोते । अब कर्ण पुनः पाञ्चाल महारथीहरूलाई आफ्नो बाणबाट पीडित पार्न थाले । अतः पाञ्चालसेना पीडित भएर रणबाट भाग्न थाल्यो । त्यति बेला पाञ्चाल र सृञ्जय यति भयभीत भइसकेका थिए कि पात चलमलाए पनि उनीहरूलाइ कर्ण आइरहेको जस्तो सन्देह भइहाल्थ्यो । कर्ण त्यो भाग्दै गरेको सेनालाई पछाडिबाट बाण हान्दै लघार्दै थिए ।

आफ्नो सेनालाई भागिरहेको हेरेर युधिष्ठिर पनि पलायन गर्ने विचार गरेर अर्जुनसित भने– धनञ्जय, तिमी जसको बन्धु र सहायक हौ, ती हाम्रा सैनिकहरूको यो आर्तनाद निरन्तर सुनिंदै छ, यिनीहरू कर्णको बाणबाट पीडित भइरहेका छन् । अब यतिबेला कर्णको वध गर्ने सम्बन्धमा जुन कुनै कर्तव्य हो, त्यो गर । यो सुनेर अर्जुनले श्रीकृष्णसित भने– मधुसूदन, आज राजा युधिष्ठिर कर्णको यस्तो भीषण पराक्रम हेरेर भयभीत भइसकेका छन् । एकातिरबाट द्रोणाचार्यले हाम्रा सैनिकहरूलाई आहत पारिरहेका छन् भने अर्कोतिरबाट कर्णको त्रास व्याप्त भइरहेको छ, त्यसैले हाम्रा सैनिकहरू भागिरहेका छन् । मैले हेरिरहेको छु कि कर्णले भाग्दै गरेका सैनिकहरूलाई पनि मारिरहेका छन् । अतः अब तपाईं जहाँ कर्ण छन् त्यहीं लग्नुहोस्, आज दुईमध्ये एउटा परिणाम आइहाल्नेछ, या त उनले मलाई मारिदेऊन् अथवा मैले उनलाई मारिदिऊँ ।

भगवान् श्रीकृष्णले भने– अर्जुन, तपाईं र राक्षस घटोत्कचबाहेक अन्य कसैले पनि कर्णसित पार पाउन सक्दैन, तर आज कर्णसित तपाईंको युद्ध होस्, यसको लागि यो उपयुक्त समय होइन, कारण कर्णसित इन्द्रले दिएको एउटा देदीप्यमान शक्ति छ, जसलाई उनले तपाईंकै लागि जोगाएर राखेका छन् । मेरो विचारमा यतिबेला कर्णसित युद्ध गर्नको लागि घटोत्कच नै उपयुक्त हुनेछन् । घटोत्कचसित दिव्य राक्षस र आसुर–यी तीन प्रकारका अस्त्र रहेका छन् । अतः घटोत्कचले यस युद्धमा अवश्य नै कर्णमाथि विजय प्राप्त गर्नेछन् ।

श्रीकृष्णले यस्तो भनेपछि अर्जुनले घटोत्कचलाई बोलाए । घटोत्कच कवच, धनुष, बाण र तरबार आदिबाट सुसज्जित भएर अर्जुनको सामु उपस्थित भएर श्रीकृष्ण तथा अर्जुनलाई नमस्कार गरेर श्रीकृष्णतिर हेर्दै भने– म सेवामा उपस्थित हुन आएँ, आज्ञा गर्नुहोस्, कुन काम गरूँ ? भगवान्ले हाँसेर भने– बाबु घटोत्कच, मैले भनिरहेको कुरा ध्यानपूर्वक सुन, आज तिमीले आफ्नो पराक्रम देखाउने समय आइपुगेको छ । यो काम अन्य कसैले पनि गर्न सक्दैन, किनकि तिमीसित अनेकौं प्रकारका अस्त्रशस्त्र छन्, राक्षसी माया त छँदैछ । हिडिम्बानन्दन, हेर, जसरी गोठालाहरूले गाईको बथानलाई हाक्दछन्, त्यसै प्रकार कर्णले आज पाण्डवसेनालाई लघार्दै छन् । उनले यस दलका प्रधान प्रधान क्षत्रियहरूलाई मारिरहेका छन् । उनको बाणबाट पीडित भएर हाम्रो सेना युद्धमा टिक्न सकिरहेको छैन । रणभूमिबाट भागिरहेका छन् । यस प्रकार कर्ण संहारमा प्रवृत्त भएका छन् । उनलाई रोक्ने खालका तिमीबाहेक अन्य कोही पनि देखिइरहेको छैन । यतिबेला तिम्रो बल असीम र माया दुस्तर छ, किनकि रात्रिको बेलामा राक्षसहरूको बल औधी बढी हाल्दछ । रात्रिको बेलामा राक्षसहरूको बलको कुनै सीमा नै हँुदैन । शत्रु राक्षसहरूलाई पराजित गर्न सक्दैन । यस अद्र्धरात्रिमा तिमीले आफ्नो माया फिंजाएर महान् धनुर्धर कर्णलाई मारिहाल, अनि त धृष्टद्युम्न आदि वीरहरूले द्रोणाचार्यको पनि वध गरिदिनेछन् ।

भगवान्को कुरा समाप्त भएपछि अर्जुनले पनि घटोत्कचसित भने– बाबु, म तिमीलाई, सात्यकिलाई तथा दाइ भीमसेनलाई मात्र आफ्नो सेनाको प्रधान वीर मान्दछु । यतिबेला रात्रिको समयमा तिमीले कर्णसित द्वैरथ युद्ध गर । महारथी सात्यकिले पछाडिबाट तिम्रो सहायता गर्नेछन् । सात्यकिको सहायता लिएर तिमीले आज शूरवीर कर्णलाई मारिहाल ।

घटोत्कचले भने– म एक्लैले नै कर्ण, द्रोण तथा अन्य क्षत्रिय वीरहरूको लागि प्रशस्त छु । आज राति म सुतपुत्रसित यस्तो युद्ध गर्नेछु, जसको चर्चा मानिसहरूले पृथ्वी रहुन्जेलसम्म गर्नेछन् । आज म राक्षसधर्मको आश्रय लिएर सम्पूर्ण कौरवसेनाको सर्वनाश गरिदिनेछु, कसैलाई पनि छाड्नेछैन ।

यति भनेर महाबाहु घटोत्कच कौरव सेनालाई भयभीत पार्दै कर्णतिर बढे । कर्णले पनि हाँस्दाहाँस्दै घटोत्कचको सामना गरे । अनि त गर्जना गरिरहेका ती दुवै वीरहरूबीचमा घोर संग्राम हुन थाल्यो । क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here