नितेश कर्ण, वीरगंज, ३ कात्तिक/

दीपावली र छठ पर्वलाई लक्षित गरेर अहिले माटोका भाँडा र विद्युतीय झिलिमिली बत्तीको बिक्री बढेको छ ।  परम्परागतरूपमा दीपावली मनाउने प्रचलन कम हुँदै गएको र माटोबाट बनाइएका सामग्रीको प्रयोग पनि घट्दो छ ।

चीनमा उत्पादित विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढेको छ । वीरगंजको सन्दर्भमा माईस्थान, गीतामन्दिर सडकखण्ड र घण्टाघर–लिङ्करोडमा रहेका बिजुलीपसलहरूमा विद्युतीय सामग्रीहरू बिक्रीका लागि सजाएर राखिएका छन् । विद्युतीय सामग्रीहरूको किनमेल केही दिनदेखि भइरहेको छ भने माटोका सामग्री हिजोदेखि घण्टाघरको विपी उद्यानको फूटपाथमा राखिएको छ ।

विन्ध्यवासिनी गाउँपालिकाको गर्दौल निवासी श्याम प्रजापतिले माटोको सामग्रीको बिक्री कम भएको बताए । उनले पुस्तैनी व्यापारलाई पितापछि सात वर्षदेखि आफूले धान्दै आएको तर पछिल्लो समयमा यसको व्यापार कम भइरहेको बताए । गत वर्ष उनले दीपावली र छठमा रु पचास हजारभन्दा बढीको माटोका सामग्री बिक्री गरेको तर यसपालि बिक्री निकै कम भएको बताए ।

बिहान र साँझ छिटपुटरूपमा बिक्रीबाहेक अहिले माटोका सामग्रीको बिक्री बढ्न सकेको छैन । दीपावली र छठमा यसको बिक्री बढे पनि आशाप्रदरूपमा व्यापार हुने कुरामा शङ्का व्यक्त गर्छन् । दीपावली मुखमा छ, तर माटोका सामग्री किन्ने ग्राहकहरूको सङ्ख्या निकै कम भएको उनले बताए । यसको कारण विद्युतीय सामग्रीप्रति मानिसहरूको आकर्षण बढेको उनको ठम्याइ छ ।

सखुवाप्रसौनी गापाको रामनगरी निवासी हरिकृष्ण प्रजापतिले पनि माटोका सामग्रीको बिक्री घटिरहेको भनेर चिन्ता व्यक्त गरे । उनले यसपटक वीरगंज, पोखरिया र जीतपुर गरी तीन ठाउँमा माटोका सामग्री बिक्री गर्न पसल थापेको तर तीनवटै ठाउँमा आशाप्रदरूपमा बिक्री नभएको बताए । माटोका सामग्री बनाउन  खर्चिएको रकम पनि नउठ्ने हो कि भन्ने चिन्ताले सताएको उनले बताए । अहिले माटोको दियो सयकडा रु १५०, ठूलो दियो प्रतिगोटा रु २०, कलश प्रतिगोटा रु ७५, छठमा प्रयोग हुने हात्ती प्रतिगोटा रु १५० मूल्य रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here