प्रस, वीरगंज, २ कात्तिक/

सहयात्री समाज, पर्साका संयोजक सुरज लिम्बुले पर्सा जिल्लामा तेस्रो लिङ्गीहरूप्रतिको भेदभाव हटिनसकेको बताएका छन् । समाजले बुधवार आयोजना गरेको सरोकारवालाहरूसँगको बैठकमा उनले तेस्रो लिङ्गीहरूलाई लिङ्गको आधारमा भेदभाव गर्ने कार्यमा कमी नआएको बताए । उनले अहिले पनि समाजमा तेस्रो लिङ्गीहरूलाई छक्का, हिजडा जस्ता उपनामबाट जिस्काउने, अपमानित गर्ने जस्ता कार्य भइरहेको बताए ।

उनले पर्सा जिल्लामा करीब पाँच सय तेस्रो लिङ्गीहरू विभिन्न पेशा, व्यवसायमा संलग्न रहे पनि मुख्यतः सङ्ख्यात्मकरूपमा यौन कार्यमा बढी संलग्नता रहेको बताए । अहिले पनि तेस्रो लिङ्गीहरू खुलेर समाजमा आउन नसकेका कारण उनीहरूको सङ्ख्या, जनगणना र निर्वाचनमा थोरै देखिएको बताए । समाजमा हुने विभिन्नखाले विभेदका कारण अहिलेसम्म पर्सा जिल्लाको मतगणनामा १६ जनाको सङ्ख्या देखिएको र त्यही सङ्ख्या मतदानमा पनि देखिएको बताए ।

बैठकमा सहभागीहरूले पछिल्लो समय बाहिरबाट आएका तेस्रो लिङ्गीहरूका कारण वीरगंजको माहोल बिग्रेको आरोप लगाएका थिए । बाहिरबाट आएका तेस्रो लिङ्गीहरूले वीरगंजका विभिन्न स्थानहरूमा यौनकर्मीको रूपमा संलग्न हुने र ग्राहक र आममानिसलाई दुःख दिने गरेको गुनासो गरेका थिए । प्रतिउत्तरमा संयोजक लिम्बुले यौन कार्यमा संलग्न तेस्रो लिङ्गीबाट घटनाहरू भइरहेको र यसलाई न्यूनीकरण गर्न प्रहरीको सहयोगमा काम भइरहेको बताए ।

यसैगरी, बैठकमा सहयात्री समाजले १५ वर्षदेखि यस क्षेत्रमा कार्य गरे पनि तेस्रो लिङ्गीमा हुने विभिन्नखाले सङ्क्रमण रोगका साथै एचआइभी एड्सको दर पनि नघटेकामा चिन्ता व्यक्त गरे । १५ वर्षदेखि संस्थाले तेस्रो लिङ्गीलक्षित गरेर एचआइभी एड्सको क्षेत्रमा कार्य गरे पनि सो रोग बढिरहेको भन्दै नारायणी अस्पतालकी एआरटी प्रमुख सरिता श्रेष्ठले चिन्ता व्यक्त गरिन् ।

बैठकमा नारायणी अस्पतालका ओमप्रकाश साह, हेमा थापा, माइती नेपालकी गोमा पौडेल, नेपाल रेडक्रस सोसाइटी, पर्साका वीरशम्शेर कुर्मी, बारा प्लसका विश्व खड्का, प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटा, डा प्रभाकरराज पाण्डे, अवधेशप्रसाद साह, पत्रकार शत्रुघ्न नेपाल, राजेन्द्रसिंह नेपाली, सानो पाइलाका राजकुमार तामाङलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here