प्रस, वीरगंज, ३० असोज/

पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा र प्रदेशसभामा कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ११ जना र प्रदेशसभा (क)मा ९ र (ख)मा १४ जना उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यको लागि सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका अजयकुमार चौरसिया उम्मेदवार छन् भने जसपा–एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपकराज पटेल, राप्रपाबाट नरेशकुमार साह, नेपाल सद्भावना पार्टीबाट उमेशप्रसाद कुर्मी, जनशक्ति पार्टीबाट सत्यनारायण प्रसाद, नेमकिपाबाट सरोजकुमार साह, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिप्रसाद साह कानू र स्वतन्त्रमा उमेश बरै, गणेशराज साह र योगेन्द्रप्रसाद यादव गरी ११ जना चुनावी मैदानमा छन् । यो क्ष्Fेत्रबाट २०७४ सालको प्रतिनिधिसभा चुनावमा जसपाबाट विमलप्रसाद श्रीवास्तव निर्वाचित भएका थिए । यसपटकको चुनावमा उनले उम्मेदवारी दिएका छैनन् । जसपाबाट जितेका श्रीवास्तव लोसपामा प्रवेश गरेका थिए ।

यो क्षेत्रबाट २०७४ सालअघि राजकुमार गुप्ता जितेका थिए । अहिले उनी ३ नं क्षेत्रबाट चुनाव लड्दै छन् । गुप्ता निर्वाचित हुनुअघि यो क्षेत्रबाट नेकाका अजयकुमार चौरसिया जितेका थिए र अहिले पनि उनी यही क्षेत्रबाट चुनाव लड्दैछन् ।

जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मी यसअघि लोसपामा थिए । चुनावमा उनलाई जसपाले टिकट दिने भएपछि जसपामा प्रवेश गरेका हुन् । कुर्मी पेशाले वकील हुन् र उनी विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् ।

यो क्षेत्रको प्रदेशसभा (क)बाट  सत्तारूढ गठबन्धनबाट नेकाका श्याम पटेल, जसपा–एमाले गठबन्धनबाट जसपाका रामनरेश यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट मनोजप्रसाद यादव, राप्रपाबाट हरि चौधरी र स्वतन्त्रबाट अब्दुल अन्सारी, गोपीचन्दप्रसाद यादव, जीवन श्रेष्ठ, फरमान अन्सारी, श्याम्बो लामा चुनाव लडिरहेका छन् ।

२०७४ सालको चुनावमा प्रदेशसभामा नेकाका राजेश्वर साह तेलीले चुनाव जितेका थिए । यसपटक उनले टिकट पाएनन् र उनको ठाउँमा नेकाले पटेललाई चुनावमा खडा गरेको छ ।

जसपाबाट उम्मेदवार भएका रामनरेश यादव सो पार्टीका जिल्ला अध्यक्ष हुन् । उनी मधेस आन्दोलनअघि नेकामा आबद्ध थिए र पछि उनी जसपामा प्रवेश गरेका हुन् ।

क्षेत्र नं २ को (ख)बाट सत्तारूढ गठबन्धनबाट लोसपाका रमेशप्रसाद कुर्मी, जसपा–एमाले गठबन्धनबाट एमालेका हरेरामप्रसाद पटेल, जनता प्रगतिशील पार्टीबाट भरतभूषण पाण्डे, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिशङ्कर साह, राप्रपाका परमानन्द साह कानू र स्वतन्त्रबाट करीमा बेगम, छोटेलालप्रसाद कुर्मी, धुरेन्द्र सहनी, आसमहम्मद मियाँ, अलि हुसेन, मुकेश द्विवेदी, रूपेशमान सिंह, शिवम्कुमार कर्ण, मेराज आलम चुनावी मैदानमा छन् । यो क्षेत्रबाट यसअघि लोसपाका रमेशप्रसाद कुर्मी विजयी भएका थिए र उनी अहिले पनि उम्मेदवार छन् ।

क्षेत्र नं २ को (ख)बाट पहिलो संविधानमा निर्वाचित करीमा बेगम पनि चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य भएकी उनी जसपामा आबद्ध थिइन् र टिकट नपाएपछि उनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार भएकी हुन् । जसपाबाटै यो क्षेत्रमा मुकेश द्विवेदी, रूपेशमान सिंहले पनि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here