धर्मेन्द्र चौरसिया, ठोरी, ३० असोज/
ठोरीका किसानहरू बितेको आधा दशकदेखि खेतीपातीको लागि भारतीय मजदूरमाथि आश्रित रहँदै आएका छन् । यहाँका अधिकांश पुरुष कामको लागि बाहिरिएका कारण उनीहरूको आर्थिक अवस्था सुदृढ भएसँगै खेतीपातीमा भारतीय मजदूरमाथि आश्रित हुनुपरेको हो ।
अहिले दैनिक ४०–५० जना भारतीय मजदूर सीमावर्ती मानपुर, भरतपुरबाट खेती मजदूरीका लागि आउने गरेका छन् । उनीहरू बिहानै आउने र बिहान ८ बजेदेखि खेतीपातीमा खट्छन् । उनीहरूले दैनिक खाना–नास्ताको साथै रु पाँच सय मजदूरी पाउँछन् ।
ठोरी गापा–३ ब्रह्मनगरको ढुङ्गे बजार निवासी किसान कल्पना घिमिरेले घरमूली पुरुष कामको लागि बाहिरिएको र अहिले खेतीपातीमा मजदूर लगाएर काम गर्नुपरेको बताइन् । उनले पाँच वर्षअगाडिसम्म ठोरीमा किसानहरू मिलीजुली खेतीपातीमा सघाउने गरेको तर अहिले भारतीय मजदूरमाथि आश्रित हुनुपरेको बताइन् ।
भारतीय मजदूरहरूका साथै ठोरीमा अहिले हार्भेस्टरको प्रयोग पनि किसानहरूले गरिरहेका छन् । मजदूरभन्दा कम खर्चमा मेशिनबाट काम लिन सकिने स्थानीय किसानहरू बताउँछन् । धानखेतीको बेलामा किसानहरूलाई सो मेशिनको प्रयोगबाट फाइदा हुने गरेको छ । धान कटानी गर्न प्रतिकट्ठा एकजना मजदूरलाई खाना र खाजासहित रु पाँच सय ज्याला दिनुपर्छ तर मेशिनबाट काट्दा प्रतिकट्ठा रु तीन सय मात्र लाग्ने गरेको छ । मेशिनबाट कटानी गर्दा वस्तुभाव भएका किसानहरूको लागि पराल नबन्ने हुँदा यहाँका किसानहरूले मेशिनको साटो मजदूर खटाउने गरेका छन् ।
ठोरीमा तीन बाली खेती हुन्छ । दुई बाली धान र एक बाली सुर्ती, तोरी, मकै र थोरै मात्रामा गहुँखेती हुन्छ । धानबालीका लागि बीउ रोप्ने, धान रोपनी गर्ने, गोडमेल गर्ने र धान कटानी गर्न प्रायः भारतीय मजदूरहरू खट्ने गरेका छन् ।