कास्की, ३० असोज/रासस
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत टेनिसको ‘टीम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आइतवार सम्पन्न भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।
टीम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३, ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनभ खनालमाथि ६–३, ७–५ सेटमा जीत निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनभ र अकीको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।
महिलातर्फ एकलमा सेनाले अर्काे विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ को सेटमा पराजित गरिन् । अर्काे खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भयो । सशस्त्रले कांस्य पदक पायो ।
महिला टीम इभेन्टमा वाग्मती प्रदेश र नेपाल प्रहरीले कांस्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कांस्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकूद परिषद्का कार्यवाहक सदस्य–सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल वितरण गरेका थिए ।
बुद्धिचाल प्रतियोगिताको खुलातर्फ आशिषको एकल अग्रता
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत क्लासिकल इभेन्ट पाँचौं चरणको खेल सम्पन्न हुँदा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन् ।
क्लासिकलतर्फको अहिलेसम्मको पाँच खेलमध्ये फुयाँलले चार खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजय बेहोरेको निर्णायक दीपेश गिरीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत पाँचौं चरणको क्लासिकल इभेन्टमा फुयाँलले नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका छन् ।
फुयाँलले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रूपेश जैसवाललाई पराजित गरेका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रूपेश जैसवालले चार/चार खेल जितेर फुयाँललाई पछ्याइरहेका छन् ।
आइटिएफमा वाग्मती र आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दोको आइतवार भएको खेलमा वाग्मती प्रदेश र विभागीय टीम नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।
कालो पेटीतर्फ वाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हासिल गरेकी हुन् । यस्तै, रातो पेटीतर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र सशस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।
यसअघि शनिवार भएका चार खेलमा नेपाल आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिंह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र नीलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रोतो पटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन् ।
नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रवीण बुढाले रजत र नीलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक जितेकी हुन् । प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ ।
शनिवारदेखि शुरू भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टीम प्याट्रनका खेल हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टीमका २५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कांस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालामा आज भएको खेलमा उनले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्णपदक जितेका हुन् । दीपकले एपिएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि गोपीचन्द्रको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।
सोही स्पर्धामा गोपीचन्द पार्कीले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । सोही स्पर्धामा आर्मीकै गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।
त्यस्तै, एथलेटिक्सको चार सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । उनले निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । आफ्नै नामको कीर्तिमान सुधार गरेकी जयरानीले यसअघि ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७ दशमलव दुर्ई सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सोही स्पर्धामा एपिएफकी भागीरथीकुमारी थारूले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् भने एपिएफकै कल्पना श्रेष्ठले एक मिनेट ०६ दशमलव ५१ सेकेन्डको समय निकाल्दै कांस्य पदक हात पारिन् ।
विभागीय त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जाली मगर र सूर्यबहादुर खत्रीले नवौं राष्ट्रिय खेलकूद अन्तर्गतको हाइजम्पमा स्वर्ण जितेका छन् ।
खगिताले महिलातर्फ तथा सूर्यले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् । सूर्यले एक दशमलव ९० मिटर जम्प गर्दै स्वर्ण जित्दा वाग्मतीका निकेश महतोले एक दशमलव ७५ मिटर जम्प गर्दै रजत जिते । पुलिसका रोशन दनुवारले पनि एक दशमलव ७५ मिटर जम्प गर्दै कांस्य जित्न सफल भए । महिलातर्फ खगिता सिञ्जाली मगरले एक दशमलव ५२ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । आर्मीकै बिन्दु थनेतले एक दशमलव ५० मिटर जम्प गर्दै रजत जितिन् । गण्डकीकी सीमा श्रेष्ठले एक दशमलव ४२ मिटर जम्प गर्दै कांस्य जितिन् ।
सेपाकताक्रोको महिला पुरुष डबलतर्फको दुवै स्वर्ण आर्मीलाई
पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फको दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ ।
पुरुषतर्फको डबलमा विभागीय टोली आर्मीले प्रदेश नं १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दीपेश जङ्ग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कांस्य पदक पदक वाग्मती प्रदेशले हात पारेका छन् ।
त्यसैगरी, महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टोली आर्मीले वाग्मती प्रदेशलाई सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डङ्गोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ वाग्मतीले रजत र गण्डकी प्रदेशले कांस्यपदक हात पारेका छन् ।
महिला र पुरुषको फरक–फरक तीन विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली आर्मीका ९८ खेलाडीले भाग लिएका छन् ।
प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा नेपाली सेनाको तर्फबाट सहभागी २६ वर्षीय निशिम पोखरा सारड्ढोटबाट उडान भरेका थिए ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । “उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने, “उनी सोझै पोखरा–१८ सारड्ढोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःखद निधन भयो ।”
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा–१० का बासिन्दा हुन् । उनको घर भने गोरखा पालुङटार हो । प्याराग्लाइडिङ खेलाडीका छाता संस्था एफएआईका कम्पिटिसन वरीयता प्राप्त खेलाडीसमेत रहेका थिए ।
मृतक थपामगरको शव पोख रा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगी खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।
भारत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण
विभागीय नेपाल प्रहरीको टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत भारोत्तोलन खेलमा पहिलो स्वर्ण जितेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घमा आजदेखि शुरू भएको प्रतियोगिताको महिला ४५ किलो तौल समूहमा पुलिसका हीरामोती थारूले पहिलो स्वर्ण दिलाइन् । उनले ‘स्न्याच’ विधातर्फ ५० र ‘क्लीन एन्ड जर्क’मा ६५ गरी कुल ११५ किलो भार उठाउँदै स्वर्ण जितेकी हुन् । यसैगरी, सशस्त्र प्रहरी एपिएफकी लीला राईले रजत र मधेस प्रदेशकी अम्बिकाकुमारी यादवले कांस्य पदक दिलाए ।
साइक्लिङमा वाग्मती र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत साइक्लिड्ढो ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ वाग्मती प्रदेश र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् ।
पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै वाग्मतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् ।
नेपाली सेनाकी उषा खनालले निर्धारित दूरी एक घण्टा १२ मिनेट ३९ सेकेन्डमा पार गरी रजत पदक जित्दा एक घण्टा २० मिनेट ४ सेकेन्डमा लक्ष्य पूरा गरी एपिएफकी हुमी बुढामगरले कांस्य पदक जिते ।
पुरुषतर्फको क्रस कन्ट्री साइक्लिड्ढो फाइनल खेलमा एपिएफले स्वर्ण र कांस्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएका छन् ।
१९ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै एपिएफका सुरज राना स्वर्ण पदक जित्न सफल भए ।
सेनाका हिमाल टमाटाले उक्त दूरी एक घण्टा ११ मिनेट ४३ सेकेन्डमा पार गर्दै रजत पदक जिते । यसैगरी, एक घण्टा १३ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै एपिएफकै लक्ष्मण मल्लले कांस्य पदक दिलाए ।
शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै, वाग्मतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कांस्य पदक जित्न सफल भए । स्वर्णका लागि प्रारम्भिक निर्णयबाट छनोट भएका पाँचजनाबाट विजेता छनोट गरिएको थियो ।
प्रारम्भिक निर्णयबाट गण्डकीका विवेक हमाल, वाग्मतीका दिनेश गोसाईं, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो छनोट भएका थिए ।
६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनील आलेले कांस्य पदक जितेका छन् ।