प्रस, वीरगंज, २९ असोज/
वीरगंजको दुई स्थान र कलैयाको एक स्थानमा गरी शनिवार तीन स्थानमा भएको रक्तदानमा १६५ जना सहभागी भएको रक्तसञ्चार केन्द्र वीरगंजका राजन श्रीवास्तवले बताए ।
वीरगंजको प्रभु हस्पिटलले तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना महिलासहित ५४ जनाले रक्तदान गरेको श्रीवास्तवले बताए ।
हस्पिटल परिसरमा आयोजित कार्यक्रममा कृष्ण पण्डित, जमिल अखतर, रन्जित चौरसिया, जेनिसा कार्की, श्रीकिसन साह, रिंकु कुमार, अस्मिता खनाल, अनिल गुप्ता, जगदीश सहनी, सन्दिप मण्डल, सुरज भगत माली, राहुल चौधरी, पवन साह कानू, सुनीलकुमार ठाकुर, अमृत महतो, सुरज मण्डल, शनि मण्डललगायतले रक्तदान गरेको श्रीवास्तवले बताए ।
प्रभु हस्पिटलका सञ्चालक डा. मनोज गुप्ताको अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. लक्ष्मी थापा, दिलीपराज कार्की, भोजपुरी गायक सुनील पण्डितलगायतको सहभागिता थियो ।
यसैगरी वीरगंज–११ श्रीपुरको गणेश मन्दिरमा वीरगंज सिटी रोयल युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नं १ (ख) बाट नेकाका उम्मेदवार रामनारायण कुर्मीले गरेका थिए । कार्यक्रममा ५१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
यसैगरी बारा, कलैया उपमहानगरपालिका–६ भरत चोकमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।