कास्की, २९ असोज/रासस

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ ।

नेपालको शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका छन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३, ६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुष्मान घलेबीच सम्पन्न खेलमा ६–१, ६–०  सेटमा शाही विजयी भए । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल र श्रीयोगको जोडीमाथि ४–१, ४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

यसैगरी पुरुष एकलको अर्को खेलमा पुलिसका आर्यन गिरीले आर्मीका एकी रावतलाई ६–२, ६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीच भएको खेल ६–३, ६–१ को सेटमा खनाल विजयी भए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२, ७–६ को सेटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलाषा विष्ट विजयी भए । उनीहरूले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरे । महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसाश्री र सुभाङ्गीको जोडीलाई पराजित गरे । महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भए । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले वाग्मतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेस प्रदेशका राजवीर प्रधान एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वार्टरफाइनलमा प्रवेश गरे । पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफको सुनीता र सर्भानीको जोडी तथा वाग्मतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ । मिक्स डबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र वाग्मतीका रोजन र अजयको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेको नेपाल टेनिस सङ्घका कार्यालय प्रमुख प्रवीण देवकोटाले जानकारी दिए ।

ह्यान्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत ह्यान्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्यान्डबल प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौं राष्ट्रिय खेलकूदमा गण्डकीको यो पहिलो स्वर्ण हो । यस अघि आठौं राष्ट्रिय खेलकूदमा पनि गण्डकीले ह्यान्डबलमा स्वर्ण जितेको थियो ।

पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ गोल अन्तरको जीत निकाल्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको सेनाले रजत पदक पायो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र महिलातर्फ सेनाका देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटीका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही रु १०/१० हजार प्रदान गरे ।

प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफले कांस्य पदक जितेको छ । एपिएफले तृतीय स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

यसैगरी महिला ह्यान्डबलमा विभागीय सेनाले स्वर्ण पदक जितेको छ । सेनाले अर्को विभागीय टोली एपिएफलाई १७–१६ गोलले हराउँदै स्वर्ण जित्न सफल भयो । प्रतियोगितामा एपिएफले रजतपदक जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गण्डकीका आठ जिल्लामा ३६ खेल सञ्चालन भइरहेका छन् ।

साइक्लिङमा सेनालाई दुई स्वर्ण पदक

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जारी नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष साइक्लिङ ‘डाउनहिल विधा’को दुवै स्वर्ण नेपाली सेनाले जितेको छ ।

पोखराको रानीवनमा आज आयोजित प्रतिस्पर्धामा महिलातर्फ सेनाका निष्मा श्रेष्ठले २’२३.५८’’ सेकेन्डमा निर्धारित दूरी पार गरी स्वर्ण जितिन् । साइक्लिड्ढो डाउनहिलमा सेनाकै उषा खनाल २’३७.४५’’ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत पदक प्राप्त गर्दा आयोजक गण्डकी प्रदेशकी जमुना थापाले २’४०.०९’’ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितिन् ।

यसैगरी पुरुषतर्फको डाउनहिल प्रतिस्पर्धामा सेनाका राजेश मगरले १‘४९.१०’’ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । वाग्मती प्रदेशका निरभ श्रेष्ठले १’५२.१०’’ सेकेन्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल एपिएफका प्रतीक थापामगरले १’५५.६९’’ सेकेन्डमा निर्धारित दूरी पार गरी कांस्य पदक पाए ।

नवौं राष्ट्रिय खेलकूदको प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल भइरहेका छन् । यही असोज २३ गतेदेखि केही खेल शुरू भएकोमा अधिकांश खेल उद्घाटनपछि भएका हुन् । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यस अघि नै शुरू भएका छन् ।

पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी, सफ्ट टेनिस रङ्गशालाको टेनिस कोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल भएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।

यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराड्ढोट र महिला पुरुष रग्वी लेखनाथमा खेलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here