प्रस, परवानीपुर, २८ असोज/

वीरगंजको ड्राइपोर्ट चोकमा लहरीको ठक्करबाट आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ वनकटवा निवासी ६० वर्षीय बिगा राम रहेको प्रहरीले जनाएको छ । लक्ष्मी आयलको मोडमा परवानीपुरतर्फ गइरहेको ना.३ख ५७४३ नम्बरको लहरीले रामलाई किचेको थियो । उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब परीक्षक दीपक गिरीले जानकारी गराए । शव शल्यपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

लहरी र चालक वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनी बस्ने वर्ष २४ का सुजीत यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

त्यसैगरी, दिउँसो २ः३० बजे ड्राइपोर्टको मूलगेटमा भएको सवारी दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत, बिहार, पूर्वी चम्पारण, आदापुर घर भई हाल वीरगंज–२३ प्रसौनीबिर्तामा बस्ने वर्ष ३५ का सन्तोष कुशवाहा रहेका छन् । प्र२–०३–२०ख८७८९ नम्बरको मोटरसाइकलमा ड्राइपोर्टभित्र गइरहेको अवस्थामा ना.५ख २२६१ नम्बरको लहरीले ठक्कर दिएको थियो । उनको पनि घटनास्थलमैं मृत्यु भएको थियो । शल्यपरीक्षणका लागि शव नारायणी अस्पतालमा लगिएको तथा चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ड्राइपोर्ट क्षेत्रमा दुर्घटना बढ्दै, हटाइएन अनधिकृत पार्किङ

वीरगंज क्षेत्रको अति व्यस्त सवारीसाधन आवागमन हुने क्षेत्र हो, वीरगंज ड्राइपोर्ट, आइसिपी मूलगेट । सो क्षेत्रमा दिनहुँ सयौं पैदलयात्री, साइकल, मोटरसाइकल, हलुका सवारीसाधन तथा भारी सवारीसाधनहरू ओहोरदोहोर गर्छन् । साथै दिनदिनै दुर्घटनाको खबरले पनि सबैलाई दुःखी बनाउने गरेको छ ।

असोज २८ गते शुक्रवारका दिन दिउँसो भएका दुईवटा दुर्घटनामा परी दुईजनाको ज्यान गयो । सो क्षेत्रमा सवारी दुर्घटना घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले खासै चासो नदेखाएको स्थानीयहरू बताउँछन् ।

वीरगंज–२५ श्रीसियाका वडाध्यक्ष आशुतोष चतुर्वेदीले व्यस्त ट्राफिक भएको सो क्षेत्रमा अनधिकृत पार्किङ नहटाइएका कारण दैनिकजसो सवारी दुर्घटना बढेको जिकिर गरे । वडा कार्यालयले गत जेठ ३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई पत्राचार गर्दै हरपतगंज–लक्ष्मी आयल चोक–ड्राइपोर्ट चोक–आइसिपी मूलगेटसम्मका क्षेत्रमा पार्किङ हुने सवारीसाधनलाई नियम अनुसार कारबाई गरी हटाउनको लागि पत्राचार गरे तापनि त्यसको पालना ट्राफिक प्रहरी कार्यालयबाट नभएको उनले आरोप लगाए ।

हजारौं सवारीसाधन गुड्ने सो क्षेत्र एकदमै खाली राख्नुपर्ने हो तर पर्सा प्रहरी र ट्राफिक प्रहरीले ध्यान दिएका छैनन् । गाडीधनीहरूबाट यो किन्दिनुस्, त्यो किन्दिनुस् भन्दै चन्दा उठाउँदै सुरक्षाकर्मीहरू हिंडेको आफूले सुनेको उनले बताए । यदि यस विषयमा स्थानीय प्रहरी एकाइ गम्भीर नभए स्थानीय जनता कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here