- राजेश मिश्र
महान् सन्त कन्फ्युसियस आम जनता माझ उच्च सम्मानित व्यक्तित्व थिए । मानिसहरू उनी कहाँ समस्या लिएर जान्थे र निदान पाउँथे । कन्फ्युसियसले समस्यालाई राम्ररी सुन्थे, बुझ्थे र उचित समाधानको उपाय सुझाउँथे । यस कारण उनीप्रति आममानिसको विश्वास र भरोसा उच्च थियो ।
एकपटक राजनीतिको सन्दर्भमा केही प्रश्नसहित राजनीतीकर्मीहरू उनीकहाँ आए । तर्क–वितर्क चलिरहेको थियो । सोही क्रममा नेताहरूमध्ये एकजनाले प्रश्न गरे–“कृपया भन्नुहोस्, साँचो अर्थमा आदर्श र असल शासक को हुन सक्छ ?” प्रश्न सुनेपछि कन्फ्युसियसले उत्तर दिंदै भने–“जोसँग जनताको भरण–पोषण गर्ने पर्याप्त साधन, देशको रक्षा गर्न पर्याप्त सेना तथा हतियार र जसमाथि जनताको पूर्ण विश्वास हुन्छ, त्यो राजनेता महान्, असल र आदर्श शासक हुन सक्छ ।”
राजनीतिज्ञहरूले उनको उत्तर सुनेपछि पुनः प्रश्न गरे–“तर यीमध्ये पनि सबैभन्दा महत्वपूर्ण के
हो ? कन्फ्युसियसले भने–“यीमध्ये सबैभन्दा महत्वपूर्ण भनेको जनताको विश्वास हो । दल, नेता वा सरकारप्रति जनताको विश्वास डगमगायो भने पतन निश्चित छ । शासकका लागि जनताको विश्वास बाहेक अरू केही महत्वपूर्ण हुन सक्दैन । विश्वसनीयता कायम राख्नु सजिलो कुरा होइन । किनभने हरेक संसाधन पैसाले किन्न सकिन्छ तर विश्वास किन्न सकिंंदैन । विश्वास यस संसारमा एक यस्तो तत्व हो, जो केवल इमानदारी र असल आचरणद्वारा प्राप्त हुन्छ ।”
नेपालको राजनिति
मङ्सिर ४ गते निर्वाचनको मिति तोकिएसँगै राजनीतिक आचरण छताछुल्ल छ । टिकटको लागि कति मरिहत्ते हुन्छ भन्ने कुराको उदाहरण अहिले ताजै छ । जनताको विश्वास जित्ने कामभन्दा पनि टिकट पाउने अभिलाषा र विजयी हुने आकाङ्क्षाभन्दा बढी नेताहरूका लागि केही छैन । नामाङ्कनको दिनसम्म दल परिर्वत गर्ने पात्रहरूको कमी थिएन । यस्तो लाग्छ कि देश विकासको लागि नभई आकाङ्क्षीहरू पाँच वर्षे जागीर खान आतुर छन् ।
गठबन्धन
“बचपन से गाजर छाप के झन्डा ओढ के दल के काम करत आवतानी । नेताजी, आज कइसे हम मुरई छाप में भोट दी ?” एक कार्यकर्ता शीर्ष नेतासँग आफू बाल्यकालदेखि गाजर छाप झन्डा ओढेर दलको काम गर्दै आइरहेकोमा आज कसरी मूला छापमा मत दिउँ भन्दै प्रश्नात्मक गुनासो पोखिरहेका थिए ।
शीर्ष नेताले गठबन्धन भएको कुरा जति तोडमोड गरेर बताए पनि कार्यकर्ता उनको तर्कसँग सन्तुष्ट थिएन । कार्यकर्ताले नेतासँग थुप्रै प्रश्न गरे । के हाम्रो दलप्रति मतदाताको विश्वास समाप्त भइसकेको छ ? यदि छैन भने गठबन्धन गर्नुको कारण के हो ? चुनावी प्रतिस्पर्धामा जनतामाझ एक्लै जान नसक्नुको कारण के हो ? जस्ता कार्यकर्ताको प्रश्नको ओइरो लागेपछि नेताको हाल बाघले लखेटिरहेको स्यालझैं भइसकेको थियो ।
गठबन्धनको नाममा दलको विचार तथा सिद्धान्तभन्दा फरक धारका दलसँग समन्वय गर्नुको अर्थ कार्यकर्ताहरूलाई बुझि नसक्नु छ । गठबन्धनको कारण अर्को दल र विपरीत धारका उम्मेदवारलाई मत दिनुपर्ने शीर्षस्थजनको आदेशले कार्यकर्ताहरूको मन अशान्त छ । असल कार्यकर्ताहरूमा घोर निराशा छाएको छ । यावत् कारणले शीर्षजनको हरकत कार्यकर्ताहरूबीच अहिले चर्चाको विषय बनेको छ । टिकट नपाएर दल परिवर्तन गर्ने त थुप्रै छन् । तर असल नियतको कार्यकर्ता गठबन्धन भएकै कारण दल प्रति असन्तुष्ट छन् ।
हास्यास्पद तर्क
दल परित्याग गर्ने नेताहरूसँग सामान्यतया म्याद सकिएका तर्क हुन्छन् । कतिपयले आफ्नो जातीय समुदायलाई उपेक्षा गरेको, क्षेत्रलाई बेवास्ता गरेको तथा इमानदारलाई टिकट नदिएको आरोप लगाउँछन् । टिकट नपाएपछि मात्र किन नेताहरू दलको कार्यशैली ठीक नभएको देख्छन् ? टिकटको टुङ्गो नलागेसम्म दलको अनुचित कार्यशैलीबारे चुइँक्क बोल्दैनन् ।
उनीहरूको तर्क म्याद सकिएको औषधिभन्दा फरक मान्न सकिंदैन । उनीहरूले आफ्नो–आफ्नो वा दलका कमी–कमजोरी नबुझेका भने होइन, केवल ढाकछोप गर्नको लागि तर्क पेश गर्दछन् । जुन विषय उठाएर दल परित्याग गर्दछन्, त्यसबारे दलभित्र कहिल्यै आवाज उठाएँ भनी बताउँदैनन् ?
दलभित्र अपवादबाहेक शीर्षदेखि भुइँतहसम्म व्यक्तिगत स्वार्थमा लिप्त छन् । कतिपयले टिकट नपाएर आक्रोशित हुन्छन् भने कतिपय, आफूसँगै आफ्ना आफन्तले पनि टिकट पाऊन् भन्ने स्वार्थ पूरा हुने अवस्था नदेखेपछि दल परिवर्तन गर्छन् । कतिले आफ्नो क्षेत्रको जनताको असन्तुष्टि बुझेर अन्य क्षेत्रबाट चुनाव लड्न नयाँ पार्टी प्रवेश गर्दछन् । दलका नेताहरूले विचारधाराको आवरण लिन सक्छन्, तर सत्य के हो भने उनीहरूसँग कुनै विचारधारा नै छैन । विचारधारा केवल कागजमा सीमित छ । दलमा आबद्ध रहेसम्म चुइँक्क नबोल्ने, दलको अवाञ्छित क्रियाकलाप देख्दादेख्दै थपडी बजाउने प्रवृत्ति दल परित्याग गरेसँगै मुख खुल्छ । केही दिन अघि आलोचना र निन्दा गर्दै आएको दलमा प्रवेश गरेसँगै सो दलको विचारधाराको प्रशंसा गर्न थाल्छन् । बिहान एक दलमा र साँझ अर्को दलमा प्रवेश हुने परम्पराले विचारशून्य राजनीतिक चरित्र उदाङ्गो हुन्छ ।
नेताहरू आफूले छाडेको पार्टीलाई असहज मात्र बनाउँदैनन्, आफू जोडिने पार्टीका लागि पनि समस्या सिर्जना गर्छन्, जसले गर्दा आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेका नेतालाई झट्का लाग्छ । टिकट नपाएको झोंकमा विद्रोह गर्छन् वा अर्को पार्टीमा सामेल हुन्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् । जसरी चुनावको घोषणापछि दलबदल हुन्छ, उम्मेदवार घोषणापछि गुट उपगुटमा विभाजित हुने परम्परा नौलो होइन । जसले टिकट पाएन, उसले अर्को पार्टीमा गएर उम्मेदवार बन्न खोज्छ । टिकटको दाबेदारीका कारण झगडा नपरोस् भन्ने कुनै पनि दल पाठ सिक्न तयार छैन । आआफ्नै स्वार्थर्पूिर्तमा सबै लिप्त रहन्छन् ।
सुधारको पहल गर्नुपर्छ
राजनीतिक दलहरूले जति दाबी गरे पनि उम्मेदवार छनोट प्रक्रिया पारदर्शी छैन । कतिपय दलले चुनाव अघि नै सर्वेक्षण गर्ने गरेको बताउँछन् । चुनावमा कसले जित्छ भन्ने कुराको खोजी गर्छन् । तर त्यस्ता सर्वेक्षणले सही तस्वीर दिनेमा शङ्का गर्नु असान्दर्भिक छैन । पैसा र शक्तिको बलमा टिकट दिने (बिक्री गर्ने) प्रणाली दलभित्रै अप्रजातान्त्रिक गतिविधिको पराकाष्ठा हो । देशलाई गणतन्त्रको दिशमा गति दिने दलभित्र बलतन्त्र हावी छ । जसले गर्दा दलभित्रको असन्तुष्टि जगजाहेर छ ।
कार्यकर्ताको सहभागितामा उम्मेदवार छनोट गर्दा गुटबन्दी, विद्रोह र घुसपैठ निरूत्साहित मात्र हुँदैन, योग्य उम्मेदवार पनि अगाडि आउँछ । उम्मेदवार छनोटमा मनमानी हुन थालेपछि उम्मेदवार बन्न नसकेकाहरू आफ्नै दलको लागि दलदल बन्न थालेका छन् ।
थप अधिकार आवश्यक
लोकतन्त्र बलियो बनाउन निर्वाचन आयोगलाई थप अधिकार दिनुपर्ने बेला आएको छ । आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई सदस्यता र टिकट दिने दललाई कारबाईको दायरामा नल्याएसम्म पारदर्शी निर्वाचनको कल्पना गर्न सकिंंदैन । त्यस्तै अर्को समस्या भनेको पैसाको भरमा चुनाव जित्ने प्रवृत्ति हो । यी कमजोरीहरू लोकतन्त्रका धब्बा हुन् । समय–समयमा सञ्चारमाध्यम र सामाजिक सङ्घसंस्थाले निर्वाचन सुधारका लागि राजनीतिक दलको ध्यानाकर्षण गराए पनि त्यसतर्फ दलहरू गम्भीर नहुनु बलतन्त्रको पराकाष्ठा हो । राजनीतिक दलहरूको यस्तो रवैया रह्यो भने लोकतन्त्रको गरिमा मात्रै खस्ने छैन, जनसेवाको आडमा राजनीतिलाई पेशा बनाएका शीर्ष नेताहरूको खल्तीमा राजनीति कैद हुँदै जानेछ र आफ्नो स्वार्थको अगाडि आमजनताको विश्वास जस्ता औचित्यपरक राजनीतिक चरित्र समाप्त हुनेछ ।