- उमाशङ्कर द्विवेदी
अर्जुनले पनि ती दुवैलाई तीक्ष्ण बाणबाट घाइते पारी हजारौं सायकबाट तपाईंका सेनालाई लखेट्न थाले । त्यति बेला सबै सेना यत्रतत्र चारै दिशातिर भाग्न थाले । यस प्रकार त्यस युद्धमा तपाईंको सेनामाथि विजय पाई श्रीकृष्ण र अर्जुन अति प्रसन्न भई शङ्ख बजाउन थाले ।
उता धृष्टद्युम्नले तीनवटा बाण हानेर द्रोणाचार्यलाई घाइते पारी उनको धनुषलाई काटिदिए । द्रोणाचार्यले त्यस धनुषलाई छाडेर अर्को धनुष हातमा लिई धृष्टद्युम्नमाथि सातवटा बाण हाने तथा उनको सारथिमाथि पाँचवटा बाण हाने तर धृष्टद्युम्नले आफ्ना बाणबाट ती सबै अस्त्रको निवारण गरेर कौरवसेनाको संहार गर्न थाले । हेर्दाहेर्दै रणभूमिमा रगतको खोलो बग्न थाल्यो । यस प्रकार तपाईंको सेनालाई पराजित गरी धृष्टद्युम्न तथा शिखण्डीले आआफ्नो शङ्ख बजाउन थाले ।
सञ्जयले भने– महाराज, पाण्डवहरूद्वारा आफ्नो सेनाको विध्वंस भइरहेको तथा उनीहरूलाई रणभूमिबाट भागिरहेको हेरेर दुर्योधनलाई बडो क्रोध भयो । उनी द्रोणाचार्य र कर्णको छेउमा पुगेर अमर्षले भन्न थाले– यतिबेला पाण्डवसेनाले मेरो वाहिनीको विध्वंस गरिरहेका छन् र तपाईं दुवैजनाले पाण्डव सेनालाई जित्न समर्थ भएर पनि असमर्थझैं भई रमिता हेर्दै हुनुहुन्छ, यदि तपाईंहरूले मलाई त्याग्न चाहनुहुन्न भने अहिले पनि आफू योग्य पराक्रम गरेर युद्ध गर्नुहोस् ।
यो उपलाम्भ सुनेर ती दुवै वीरहरू पाण्डवहरूको सामना गर्नको लागि अगि बढे । यसै प्रकार पाण्डवहरू पनि आफ्नो सेनाको साथ बारम्बार गर्जना गर्दै ती दुवैमाथि जाइलागे । त्यति बेला द्रोणाचार्य क्रोधित भएर दशवटा बाणबाट सात्यकिलाई घाइते पारे । साथै कर्णले पनि दशवटा, तपाईंका पुत्रले सातवटा, वृषसेनले दशवटा र शकुनिले सातवटा बाण हाने । उता द्रोणाचार्यले पाण्डव सेनाको संहार गरिरहेको हेरेर सोमक क्षत्रियहरू तत्काल त्यहाँ आइपुगेर सबैतिरबाट द्रोणाचार्यमाथि बाण वर्षा गर्न थाले । आचार्य पनि चारैतिर बाणको झरी लगाएर क्षत्रियहरूको प्राण लिन थाले । उनको मारबाट पीडित भएर पाञ्चाल वीरहरू एकअर्कालाई हेरेर आर्त चित्कार मचाउन थाले । श्रीकृष्ण, अर्जुन, भीमसेन, युधिष्ठिर तथा नकुल र सहदेव हेरेको हे¥यै भए र उनको सेना द्रोणको प्रहारबाट पीडित भई हातमा बलिरहेको हजारौं मशाल फ्याँकी त्यस राति भागिहाले । चारैतिर अँध्यारोको साम्राज्य थियो । केही पनि देखिइरहेको थिएन, केवल कौरवसेनाको दीपकको प्रकाशमा शत्रु भागिरहेका देखिन्थे । महारथी द्रोण र कर्ण भाग्दै गरेको सेनाको पछाडिबाट बाणवर्षा गर्दै मारिरहेका थिए ।
यो सबै हेरेर भगवान् श्रीकृष्णले भने–अर्जुन, द्रोण र कर्णले धृष्टद्युम्न र सात्यकि तथा सम्पूर्ण पाञ्चाल योद्धाहरूलाई आफ्नो बाणबाट अत्यन्त घाइते पारिदिए । यिनीहरूको बाणवर्षाबाट तपाईंका महारथीहरूको साहस निख्रिइसक्यो, अब सेना रोकेर रोकिन्न । अर्जुनसित यस प्रकार भनेपश्चात् भगवान् श्रीकृष्ण र अर्जुन दुवैले सैनिकहरूसित भने– पाण्डवसेनाका शूरवीरहरू हो, तिमीहरू भयभीत भएर न भाग । भयलाई आफ्नो चित्तबाट निकालिदेऊ । हामीहरूले अहिले नै व्यूह रचना गरेर द्रोण र कर्णलाई दण्ड दिने प्रयत्न गर्दैछौं ।
श्रीकृष्ण र अर्जुनले यस प्रकार कुरा गरिरहेकै बेला भयङ्कर कर्म गर्न भीमसेनले आफ्नो सेनालाई फर्काएर शीघ्र त्यहाँ आइपुगे । उनलाई आएको हेरेर जनार्दनले पुनः अर्जुनसित भने– पाण्डुनन्दन, यो हेर्नुहोस्, सोमक र पाञ्चाल योद्धाहरूलाई साथमा लिई भीमसेन बडो वेगले द्रोण र कर्णतिर बढ्दै गइरहेका छन् । अब सेनालाई धैर्य दिलाउनको लागि तपाईं पनि यिनीहरूको साथमा युद्ध गर्नुहोस् ।
तदन्तर अर्जुन र श्रीकृष्ण द्रोण र कर्णको छेउमा गई सेनाको अग्रभागमा उभिए । अनि युधिष्ठिरको बडो भारी सेना पनि फर्किआयो । द्रोण र कर्णले पुनः शत्रुहरूको संहार गर्न आरम्भ गरे । दुवैतिरको सेनाबीच भीषण युद्ध हुन थाल्यो । त्यति बेला तपाईंको सेनाले पनि हातको मशाल फालेर पाण्डवहरूको साथ युद्ध गर्न थाले । चारैतिर अन्धकार र धूलो छाएको थियो । जसरी स्वयंवरमा राजाहरूले आआफ्नो नामको उच्चारण गर्दै आफ्नो परिचय दिन्छन्, त्यसै प्रकार त्यहाँ प्रहार गर्ने योद्धाहरूको मुखबाट उनीहरूको नाम सुनिंदै थियो । जताजता दीपकको प्रकाश देखिन्थ्यो, त्यतैत्यतै लडाकू सैनिक फट्याङ्ग्राझैं झुमिन्थे । यस प्रकार युद्ध गर्दागर्दै त्यस महारात्रिको अन्धकार धेरै घनीभूत हुन पुग्यो ।
तत्पश्चात् कर्णले धृष्टद्युम्नको छातीमा दशवटा मर्मभेदी बाणको प्रहार गरे । प्रत्युत्तरमा धृष्टद्युम्नले पनि कर्णमाथि दशवटा मर्मभेदी बाण हाने । यस प्रकार ती दुईटैले एक अर्कामाथि मर्मभेदी बाण हान्न थाले । अलिकबेरमैं कर्णले धृष्टद्युम्नको घोडालाई मारेर उनको सारथिलाई घाइते पारी तीक्खर बाणले उनको धनुषलाई काटी एउटा भल्ल प्रहार गरेर उनको सारथिलाई मारिदिए । अनि धृष्टद्युम्नले एउटा भयङ्कर परिघ प्रहार गरेर कर्णको घोडालाई मारिदिए । फेरि पैदल नै युधिष्ठिरको सेनामा पुगी सहदेवको रथमाथि गई बसे । क्रमशः…