नितेश कर्ण, वीरगंज, २६ असोज/

श्रीसिया नदी फेरि दुर्गन्धित हुन शुरू भएको छ । यसपालिको छठ पर्व कात्तिक १३ गते परेको छ तर श्रीसिया नदी निरन्तर दुर्गन्धित भइरहेको छ । तीन दशकदेखि श्रीसिया नदी प्रदूषित अवस्थामा छ । तर सरोकारवालाहरूलाई भने यो नदी छठ पर्वको बेलामा मात्र दुर्गन्धित हुने गर्छ ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले यो छठअगावै श्रीसिया नदी प्रदूषणमुक्त हुने घोषणा गरेका थिए । तर यसबारेमा अहिलेसम्म कुनै पहल भएको छैन । महानगरको पहलमा असोज २७ गते बिहीवार सरोकारवालाहरूको बैठक राखिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको रामवन झाडीबाट बग्ने श्रीसिया खोला जीतपुर, नितनपुर, परवानीपुर, लालपर्सा, भवानीपुर, रामगढवा, रानीघाट, छपकैया हुँदै भारततर्फ बग्ने गर्छ । यो खोलामा करीब एक दर्जनभन्दा बढी उद्योगले प्रदूषित पानी उत्सर्जन गर्ने गरेकाले खोला प्रदूषित र दुर्गन्धित भएको हो । यहाँ रहेका उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट बनाउने भनी उद्योग विभागसँग सम्झौतासमेत गरेकामा सो अनुसार काम उद्योगहरूले नगर्दा एवं उद्योग विभागले नियमित अनुगमन नगर्दा श्रीसिया नदीको यस्तो दुरवस्था देखिएको हो ।

महानगरले श्रीसिया नदी प्रदूषणमुक्तका लागि बनाएको वाटर ट्रिटमेन्ट प्लान्ट पनि सञ्चालनमा छैन । करोडौं लागतमा बनेको वाटर ट्रिटमेन्ट प्लान्ट तीन वर्षअगाडि उद्घाटन भएको थियो तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । ट्रिटमेन्टको लागि आवश्यक पानी अपुग हुँदा सञ्चालन हुन नसकेको हो ।

महानगरले एडिबीको सहयोगमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो । श्रीसिया नदी नेपालबाट भारत पुग्छ । अन्तर्राष्ट्रिय नदी भएको कारण महानगरका फोहरहरू सीधैं नदीमा विसर्जन गर्न नपाइने हुँदा वाटर ट्रिटमेन्ट प्लान्ट बनाइएको हो तर अहिलेसम्म यसको सही उपयोग भने हुन सकेको छैन ।

एकताका महानगरका फोहर श्रीसिया नदीको किनारमा फालिन्थ्यो, जसले गर्दा नदी प्रदूषण हुनुका साथै सीमावासीहरू दुर्गन्धको शिकार हुन्थे । अहिले एडिबीको सहयोगमा महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र बनाएको छ र महानगरबाट उत्पादित फोहरहरू केन्द्रमा पुग्छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बिहीवार सरोकारवालाहरूसँग श्रीसिया नदी प्रदूषणबारेमा बैठक डाकिएको बताए । उनले बैठकबाट निष्कर्ष निस्किने र त्यसलाई महानगरले पालना गर्ने जानकारी गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले पनि बिहीवार श्रीसिया नदीको प्रदूषण सम्बन्धमा बैठक डाकिएको बताए । उनले श्रीसिया नदी प्रदूषणमुक्त गराउने अभियानमा महानगरको प्रयास रहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here