प्रस, वीरगंज, १५ असोज/
वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माई मन्दिरको मेला शुभारम्भ भएको छ ।
घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा हजारौं श्रद्धालु भक्तजनको भीड देखिन्छ । अहिले घण्टाघर छेउछाउ र गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ ।
आइतवार फूलपाति र सोमवार बलिदान हुने कार्यतालिका छ । यो दुई दिन नवरात्रको महारात्रिको रूपमा पनि मानिने चलन छ । शनिवार राति गहवा माईको खोइँच भर्ने श्रद्धालु भक्तजन पनि रातिदेखि नै मन्दिर परिसरमा लाइन लागेको देखियो ।
मेलामा बारा, पर्सा, रौतहट, बिहारलगायत क्षेत्रबाट सामान बिक्री गर्ने व्यवसायीहरू आएका छन् ।
मेलाको क्रममा जिलेबी, चाट, पानीपुरी, खेलसामग्री, शृङ्गार सामान, जुत्ता, चप्पल, कपडालगायत बिक्री भइरहेको छ ।
मेलालाई मध्यनजर गर्दै विपी पार्कमा रमाइलो मेला आयोजना गरिएको छ भने खेल तमाशा र झुलुवा पनि राखिएको छ ।
गहवा माई मन्दिर अगाडिको सडकलाई नवनिर्वाचित मेयर राजेशमान सिंहले सौन्दर्यीकरण गर्न करीब ९० लाख रुपियाँ खर्च गरेको बुझिएको छ ।
मन्दिर परिसर वरपर झिलीमिली बत्तीले दुलहीझै सिंगारिएको र यसपालि वीरगंजको मेलाको रौनक श्रद्धालु भक्तजनलाई निकै मनमोहन लागेको प्रतिक्रिया दिएका छन् ।
बोकाको भाउ बढ्यो
वीरगंज मेलामा अहिले बलिदानको लागि बोकाको खरीद बिक्री पनि भइरहेको छ । हरेक वर्ष कम्तिमा २००० बोका बिक्री हुने यस पालि महँगीको कारणले करीब १५ सयभन्दा बढी मात्र बोका बिक्री हुने व्यवसायीहरूले बताएका छन् । घण्टाघर नजीकको टाङ्गा स्टेन्ड नजीकै बारा, पर्सा र बिहारबाट दर्जनौं व्यक्ति दर्जनौं बोका लिएर आएका छन् । ५ हजारदेखि २५ हजारसम्म बोका बिक्री भइरहेको देखिएको छ ।
खडा किलोको साढे ६ सय रूपियाँको हिसाबले बोकाको दाम लागिरहेको व्यवसायीको भनाइ छ । जुन पोहोर साढे ५ सय किलोको दरमा बिक्री भएको थियो ।
खरीदकर्ताहरूले प्रहरी प्रशासनको लापरवाहीले गर्दा वीरगंजका केही मासु व्यवसायीहरू वीरगंज आसपासको ग्रामीण क्षेत्रबाट सस्तोमा बोका खरीद गरी ल्याएको र महँगोमा बिक्री गरिरहेको बताएका छन् ।