प्रस, पोखरिया, १४ असोज/

इलाका प्रहरी कार्यालय, कालिकामाई गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी मसउद आलम खाँले गरेका छन् ।

भवनको उद्घाटन गर्दै डिआइजी खाँले प्रहरी कार्यालय स्थापना भएपछि अपराध नियन्त्रण तथा सामाजिक विकृति निरुत्साहित गर्न सहयोग पुग्ने बताए । उनले प्रहरी युनिटलाई सेवा पारदर्शी बनाउन र निष्पक्ष सेवा गर्न आग्रह गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, अध्यक्ष वशिष्ठ कुमार, सहायक सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायतको सहभागिता थियो ।

कालिकामाई गापाले सात कट्ठा जग्गा प्रदान गरेपछि दुई करोड ३२ लाखको लागतमा भवन निर्माण भएको हो । कार्यालय, गार्ड, जवान र प्रहरी हवलदार ब्यारेक, महिला ब्यारेक, सञ्चार शाखा, कार्यालय प्रमुख कोठा, शौचालय, थुनुवा कोठा, भान्सा कोठा निर्माण भएको छ ।

२०७७ सालमा तत्कालीन गापा अध्यक्ष स्व नथुनी कुशवाहाको पहलमा प्रहरी भवनको लागि सात कट्ठा जग्गा खरीद गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here