प्रस, गरुडा, १४ असोज/

बज्जिका साहित्य सङ्गम, रौतहटको सातौं वार्षिकोत्सवको अवसरमा संस्थालाई निस्स्वार्थ सहयोग गर्ने वीरगंज निवासी बालदेवप्रसाद साहलाई सम्मानित गरिएको छ । वीरगंज निवासी पूर्व जिल्ला शिक्षा अधिकारी साहले सङ्गमलाई पचास हजार रुपैयाँ अक्षयकोषमा प्रदान गरेकाले प्रशंसापत्रले सम्मानित गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा बज्जिका भाषाका दुईवटा पत्रिकाको लोकार्पण गरिएको थियो । नेपालमा बज्जिका भाषाको पहिलो साहित्यिक पत्रिका बज्जिकार्पणको २६औं र सर्लाहीबाट प्रकाशित पहिलो साहित्यिक त्रैमासिक बज्जीको सातौं अङ्कको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारले संयुक्त लोकार्पण गरेका थिए ।

पत्रिकाको लोकार्पण गर्दै नगरप्रमुख कलवारले मातृभाषा बज्जिकालाई चिनाउन बज्जिका साहित्य सङ्गम र साहित्यिक पत्रिकाहरूले ठूलो भूमिका निर्वाह गरेको बताए ।

रौतहटका व्यवसायी तथा युवा समाजसेवी रवि जयसवालले व्यवस्थापन गरेको कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी डा कमलेश्वरकुमार सिन्हा, पूर्व जिल्ला शिक्षा अधिकारी बालदेवप्रसाद साह तथा सर्लाही सदरमुकाम मलङ्गवाका साहित्यकार रामचन्द्र महतो कुशवाहाले नगरप्रमुख कलवारसँगै पत्रिकाको संयुक्त लोकार्पण गरेका थिए ।

कार्यक्रममा बज्जिका समृद्धि समाज सर्लाहीका अध्यक्ष जियालाल राय यादव, बज्जिका भाषा विकास परिषद्का अध्यक्ष शिवचन्द्रप्रसाद साह, नवसर्जक साहित्य चौतारी, मधेस प्रदेशकी अध्यक्ष रूबि गुप्ता, नेपाल साहित्यिक पत्रकार सङ्घ, मधेस प्रदेशका अध्यक्ष सञ्जय साह मित्र, साहित्यकार बिन्दा साहनी, मनमोहन सिंह मनोहर, विपिनबिहारी सिंह, नेपाल चलचित्र कलाकार सङ्घको मधेस प्रदेश अध्यक्ष विजय यादव निर्बिज, साहित्यकार ममताज राय भाट, गायक कुमार चन्दन, रवीन्द्र पटेल, प्रधान शिक्षक विजयकान्त मिश्रसहित दर्जनौं भाषा तथा साहित्यानुरागीहरूको सहभागिता थियो ।

यसैगरी, झिझिया गीत प्रस्तुत गर्ने कलाकारहरूलाई नगरप्रमुख कलवारले नगद तथा गम्छा ओढाएर सम्मानित गरेका थिए ।

सङ्गमका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई सङ्गीताकुमारी सहनीले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here