प्रमोद यादव, पंचगावाँ, ७ असोज/

स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएपछि निर्वाचन कार्यालय, पर्साले केही दलका उम्मेदवारहरूलाई जरिवाना तोकेपछि उनीहरू समस्यामा परेका छन् । पार्टी तथा दलित कोटामा उम्मेदवारी दिएका केही गरीब उम्मेदवार जरिवाना तिर्न नसक्दा समस्यामा परेका हुन् ।

पटेर्वासुगौली गाउँपालिका–४ निवासी नेपाल सुशासन पार्टीबाट मकै छाप चुनाव चिह्न लिएर गापा अध्यक्षमा उम्मेदवारी दिएका लालबाबूराम चमार जरिवाना तिर्न नसक्ने भएपछि चिन्तित भएका हुन् । उनले पार्टीको मुख्य सिद्धान्त अनुसार निस्स्वार्थ समाजसेवा गर्न दलित कोटाबाट चुनाव लडेको बताए । चुनावमा खासै खर्च नभएको, तर निर्वाचन कार्यालयले जरिवाना तोकेपछि चिन्तित भएको बताए ।

आफूसँग खेतबारी नभएको र अरूको खेतमा काम गरी जीवननिर्वाह गरिरहेको अवस्थामा निर्वाचन कार्यालयले ३ लाख ५ हजार जरिवाना गरेपछि इन्तु न चिन्तु भएको बताए । उनले जरिवाना माफी गर्नुपर्ने प्रतिक्रिया दिए ।

यसैगरी पटेर्वासुगौली गाउँपालिका–४ वडासदस्य पदको लागि एमालेबाट दलित कोटाका उम्मेदवार प्रेमशिलादेवी राम चमारलाई निर्वाचन कार्यालयले एक लाख ५० हजार जरिवाना तोकेको छ । उनले ऐलानी जग्गामा घर रहेको र बिहान–बेलुका अरूको खेतबारीमा काम गरी जीवन निर्वाह गरिरहेको अवस्थामा निर्वाचन कार्यालयले डेढ लाख जरिवाना गरेपछि समस्यामा परेको बताइन् । उनले यो जरिवाना रकम पार्टीले नै तिर्नुपर्ने बताइन् ।

यता निर्वाचन कार्यालय, पर्साले निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम निर्वाचन खर्च समयमा नबुझाउनेलाई कारबाईस्वरूप जरिवाना गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here