प्रस, वीरगंज, ७ असोज/

जीतपुरसिमरा उपमहानगरपालिका–६ मा गत स्थानीय चुनावको दिन राकेशभक्त पौडेलको हत्या भएको सम्बन्धमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले जिल्ला अदालत बाराको आदेश उल्टाएको छ ।

असोज ६ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सीताराम मण्डलको संयुक्त इजलासले घटनाका १३ जना आरोपीमध्ये एकजना नाबालिकालाई साधारण तारेखमा रिहा तथा सातजनालाई रु तीन लाख धरौटीमा रिहा गर्ने र बाँकी पाँचजनालाई बारा जिल्ला अदालतको आदेश सदर गर्दै पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ ।

पौडेलको गत वैशाख २९ गते हत्या भएको घटनामा निजका पिता चिरञ्जीवीभक्त पौडेलले दिएको कर्तव्य ज्यान मुद्दामा १४ जना अभियुक्तमध्ये बारा जिल्ला अदालतले एकजना नाबालकलाई रिहा गरेको थियो भने एकजना नाबालिकालाई बाल सुधारगृहमा पुर्पक्षको लागि र बाँकी १२ जनालाई कारागार चलान गर्ने आदेश गरेको थियो ।

सो आदेशको विरुद्ध अभियुक्तहरूले १७ नम्बर बमोजिम उच्च अदालत वीरगंज इजलासमा रिट दायर गरेका थिए । सोको सुनवाइ असोज ६ गते भएको र त्यसमा बारा जिल्ला अदालतबाट भएको निर्णय उल्टाइएको हो ।

उच्च अदालतको निर्णय अनुसार घटनाका अभियुक्तमध्ये उद्धव अधिकारी, राजु अधिकारी, सुदीप घिमिरे, खगेन्द्र रिजाल, बलराम चिमोरिया, सन्तोष खत्री, सन्ते बछारसँग तीन/तीन लाख रुपैयाँ धरौटी लिएर तारिखमा छाडिएको छ भने चित्रबहादुर केसी, दुर्गा क्ष्त्री, कुमार मगर, सन्दीप लामा, सुमन लामालाई बारा जिल्ला अदालतकै निर्णय सदर गर्दै पुर्पक्षको लागि जेल आदेश भएको छ ।

उच्च अदालतको आदेशपछि एकजना नाबालिका साधारण तारिखमा र सातजना धरौटी बुझाएर वीरगंज कारागारबाट मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here